Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

‘नछोड् चित्रे नछोड्’ डाइलगले भाइरल यी व्यक्ति रास्वपाबाट जितेका सांसद हुन्? यस्तो छ वास्तविकता

‘नछोड् चित्रे नछोड्’ डाइलगले भाइरल यी व्यक्ति रास्वपाबाट जितेका सांसद हुन्? यस्तो छ वास्तविकता


  • 386
    Shares

    ‘नछोड् चित्रे नछोड्’ डाइलगले भाइरल यी व्यक्ति रास्वपाबाट जितेका सांसद हुन्? यस्तो छ वास्तविकता

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेपछि सामाजिक सञ्जालमा एउटा भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा माला-अविर लगाएका एक युवा विगतमा मतदाताले आफूलाई कसरी झुक्क्याएका थिए र यस पटक आफू कसरी बाठो भएँ भनेर रोचक किस्सा सुनाइरहेका छन् ।

    अनौपचारिक र हास्यरसयुक्त शैलीमा गफ गरिरहँदा कसैले भिडिओ खिचेर सामाजिक सञ्जालमा हालिदिएको हो । उनलाई धेरैले ‘यस्ता फन्टुस पनि सांसद’ भन्दै उल्लीबिल्ली गरिरहेका छन् । कन्टेन्ट क्रियटरदेखि केही सञ्चारमाध्यमहरूले पनि उनलाई नवनिर्वाचित सांसद भनेर प्रचार गरे । तर, वास्तविकता भने फरक छ ।

    सामाजिक सञ्जालमा नवनिर्वाचित सांसद भन्दै भाइरल गरिएका ती युवा हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका जिल्ला सभापति चित्रकुमार कार्की । उनले यस आमनिर्वाचनमा उम्मेदवारी नै दिएका थिएनन् । यद्यपि, पार्टीका उम्मेदवारहरूलाई जिताउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

    आफ्नो नेतृत्वमा पार्टीले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेपछि उनले खुसीयाली अविरमाला लगाएका हुन् । जितपछि उनी गाडीमा चढेर कतै जाँदै गर्दा २०७९ सालको स्थानीय चुनावमा आफूले मेयरमा स्वतन्त्र उम्मेदवारी दिँदाको प्रसंग निकाल्दै हँसाएका थिए । त्यही कुराकानीको भिडिओ खिचेर साथीभाइले सामाजिक सञ्जालमा हालिदिएका हुन् ।
     
    यस विषयमा प्रष्ट पार्दै कार्कीले नेपाल प्रेससँग भने, ‘त्यो भिडियो बेल्टारबाट विरेन्द्रचोक जाँदैगर्दाको हो । त्यस दिन मेरो जन्मदिन पनि थियो । जन्मदिन मनाएर जाँदै गर्दा मैले हिजोको दिनमा यस्तो संघर्ष गरेको थिए भनेर साथीहरूलाई रमाइलो तरिकाले सुनाएको थिएँ ।’

    त्यतिबेलाको चुनावमा स्वतन्त्र रूपमा मेयर उठेका उनले ४१ मत मात्रै प्राप्त गरेका थिए ।

    मेयर उठ्दाको अनुभव सुनाउँदै उनले भिडियोमा भनेका छन्, ‘उमेरमा रहर लागेपछि मेयरमा उठौँ न त भनेर स्वतन्त्र उठेँ । त्यतिबेला पार्टीहरूको काम छैन, युवा र स्वतन्त्र चाहिन्छ भन्ने चर्चा थियो । यसो बजारतिर डुल्यो, सबैले ‘नछोड् चित्रे, नछोड्, तँ जस्ता युवा चाहिएको छ’ भन्छन् । म पनि सोझो मान्छे, पत्याइहालेँ । अरूको कुरा सुनेर म पनि जुरुक्कै उठेँ, सबैतिर जितिसकेँ भन्दै गफ लगाउँदै पनि हिँडेँ, तर अन्तिममा ढोक्सो त खाली !’

    स्वतन्त्र उठेर पार नलाग्ने देखेपछि उनी रास्वपामा जोडिएर संगठन विस्तारमा लागेका हुन् । त्यतिबेला मतदाताबाट धोका पाएपछि आफू बाठो भएको र त्यही अनुभवले यस पटक सफलता दिलाएको उनी बताउँछन् । भिडियोमा उनी गलल हाँस्दै भन्छन्, ‘त्यसपछि म पनि पार्टीमा लागेँ, पार्टीमा लागेर उनै मतदातालाई नछोड है नछोड भन्दै हिँडेँ । अहिले दुई वटा निर्वाचन क्षेत्र खर्लप्प (जित्यौँ), म अहिले बाठो भएँ उनीहरूकै कारणले क्या !’

    उल्टो मोटरसाइकल यात्रा गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका व्यक्ति हुन् कार्की । उनले एक वर्ष अघि मेरापिक हिमाल आरोहण गरेर पहिलो पटक रास्वपाको चुनाव चिन्ह घण्टी फहराएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १७:५५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij