२०८२ फाल्गुण १९ गते मंगलवार
तेहरान । इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा भएका शृंखलाबद्ध हवाई हमलामा परी इरान र लेबनानमा गरी ज्यान गुमाउनेको संख्या ६०० नाघेको छ।
इजरायली वायुसेनाले तेहरानस्थित इरानी सरकारी रेडियो तथा टेलिभिजनको मुख्यालयलाई निशाना बनाई ध्वस्त पारेको छ।
सञ्चार केन्द्रबाट इरानी रिभोलुसनरी गार्ड्सले प्रोपोगान्डा फैलाउने गरेको इजरायलको दाबी छ। यता लेबनानको बेरुतमा पनि आवासीय क्षेत्र र सैन्य ठेगानामा बमबारी जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इरानलाई निःशस्त्र बनाउने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको यो सैन्य अभियान झण्डै चार हप्तासम्म चल्न सक्ने बताएका छन्।
ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले तेहरानको क्षेप्यास्त्र क्षमता र आणविक पूर्वाधार पूर्ण रूपमा नष्ट नगरेसम्म अमेरिका पछि नहट्ने प्रतिबद्धता जनाएका हुन्। उनले भनेका छन्, ‘हामीले इरानबाट आउने खतरालाई सधैँका लागि अन्त्य गर्नुपर्छ, यसका लागि जस्तोसुकै कदम चाल्न वासिङ्टन तयार छ।’
इरानी सैन्य कमान्डरले हर्मुज मार्ग भएर जाने कुनै पनि जहाजमाथि आक्रमण गर्ने धम्की दिएका छन्। विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यो मार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० देखि १३ प्रतिशतसम्म बढिसकेको छ।
बमबारीका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने अस्पताल घाइतेले भरिएका छन्। संयुक्त राष्ट्रसंघले यस द्वन्द्वले ठूलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेको छ। दुवै पक्ष पछि हट्ने संकेत नदेखिएकाले मध्यपूर्वमा पूर्णकालीन युद्धको खतरा बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij