Logo

२०८२ फाल्गुण १९ गते

images
images
आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस् - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

images

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 330
    Shares

    आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. ‘रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको केन्द्र बनाउने मेरो संकल्प हो’ः विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउने संकल्प लिएको बताउनुभएको छ । फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बोल्दै नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धि र सुशासनको बाटोमा अघि बढाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । मुलुकमा समृद्धि र सामाजिक न्याय त्यसै प्राप्त नहुने बताउँदै उहाँले त्यसका लागि सही सोच, दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्ने र आफ्नो उम्मेदवारी तिनै राष्ट्रिय उद्देश्य पूरा गर्न केन्द्रित रहेको बताउनु भयो । रुपन्देही जिल्लालाई पूर्वाधार र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन आफूहरु सफल भएको दाबी गर्दै पौडेलले अबको योजना निर्माण सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन र निर्माणाधीन आयोजनाको सफल कार्यान्वयन रहेको बताउनु भयो । यसका साथै जिल्लामा थप नयाँ र ठूला आयोजनाहरु शुरु गर्ने उहाँको भनाइ छ । 

    २. इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमवार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको हो । फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले रङ्गहरूको यस पर्वले समाजमा एकता, सद्भाव र उत्साहको सन्देश दिने तथा नेपालको विविधतालाई मजबुत बनाउने बताउनु भयो । प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल र जिम्मेवारीको समीक्षा समेत गर्नुभएको छ । इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उहाँले बताउनु भयो । आफ्नो कार्यकालभर न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको स्मरण गर्दै उहाँले अबको केही दिनमै देशको बागडोर जनताले चुनेका नयाँ प्रतिनिधिहरूको हातमा सुम्पिने उद्घोष गर्नुभयो । 

    ३. जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गर्नुभएको छ । झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताउनुभएको हो । उहाँले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गर्नुभयो । देश बचाउने र विकास गर्ने शक्तिलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो । ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो । 

    ४. ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

    निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरि व्यवस्थापन गरिएको जनाएको हो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दे आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बन्चित हुन नपर्ने गरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृतको व्यवस्थापन गरेका छौँ । हामीले सुक्ष्म अनुगमनको पनि व्यवस्था गरेका छौ । हामीले कुनैपनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्ने कुरामा आयोग दृढ छ । सोअनुसार नै मतदान केन्द्र तथा मतदान स्थलको व्यवस्थापन गरेका छौ । 

    ५. निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइः अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानीको निर्देशन

    निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ । सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम तोकिएका अनुगमन अधिकृतहरूलाई आफ्नो जिम्मेवारी कडाइका साथ पालना गर्न निर्देशन दिइएको बताउनुभएको हो । प्रवक्ता भट्टराईकाअनुसार अनुगमन अधिकृतहरूलाई जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्यहरू पाइएमा तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन अधिकार प्रत्यायोजन गरिएको बताउनु भयो । जिल्ला आचारसंहिता अनुगमन समितिसँगको सहकार्यमा अनुगमनकर्ताको अधिकार प्रयोग गरी आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने आयोगले स्पष्ट पारेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि जोड दिएको बताउनु भयो । 

    ६. निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरू बीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनले देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मको ख्याल गर्ने पार्टीको रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको विकल्प नभएको दाबी गर्नुभयो । निर्वाचनले देशको रक्षा गर्ने र विकासको पाटो साट्ने अवसर प्रदान गरेको उहाँको भनाइ छ । 

    ७. निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल, भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्ने चेतावनी

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको छ । सोमवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको हो । देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको बताउँदै उहाँले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताउनु भयो । प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिलाई स्मरण गर्नुभयो । सडकमा देखिएको युवाहरूको आक्रोश र देशको भविष्यप्रतिको अन्योललाई चिर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउन वर्तमान सरकार सफल भएको उहाँले दाबी गर्नुभयो । 

    ८. मध्यपूर्वको तनावप्रति सरकार गम्भीरः नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता

    प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटप्रति सरकारले गम्भीर रहेको बताउनुभएको हो । कार्कीले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सुक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । कार्कीले रोजगारी तथा अन्य सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको बताउनु भयो । संकटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न वर्तमान सरकार पूर्ण रूपमा कटिवद्ध रहेको आश्वासन दिनुभएको छ । 

    ९.मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । उहाँले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्शामा राखेर बलियो दाबी प्रश्तुत गरिएको बताउनु भयो । यसका साथै उहाँले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको बताउनु भयो । विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने बाटो चीनतिरबाट पनि खुलेको उहाँको भनाइ छ । ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको दाबी गर्नुभयो । 

    १०. वसन्तपुरमा रङ्गहरूको उत्सव – ‘होलीको उल्लास’

    वसन्तपुर दरबार क्षेत्रको वातावरण आज अर्कै छ । काठमाडौंको मुटु, जहाँ ढुङ्गाका मूर्तिहरू बोल्छन् र इतिहासले सास फेर्छ । हावामा अबिरको सुगन्ध छ र आकाश रङ्गीन बादलले ढाकिएको छ । यो केवल एउटा पर्व मात्र होइन । होली खुशी साट्ने माध्यम पनि हो । सैको हातमा रातो, कसैकोमा नीलो त कसैकोमा पहेँलो । यी रङ्गहरूमा कुनै भेदभाव छैन । यहाँ न कोही पराई छ, न कोही अपरिचित । जब गालाहरूमा अबिरको स्पर्श हुन्छ, तब मानिसका मनहरू पनि एकाकार हुन्छन् । वसन्तको यो आगमनले सुक्खा रुखहरूमा मात्र होइन, मानिसका भावनाहरूमा पनि पालुवा फेराएको छ । पिचकारीबाट निस्किएका पानीका फोहोराहरू र ती साना नानीहरूको खिलखिलाउँदो हाँसो । साँच्चै होलीमा खुशी जादु नै छ । एउटा सानो बालकले जब आफ्नो कलिलो हातले रङ्ग दल्छ, तब लाग्छ संसारका सारा खुशीहरू यही मुस्कानमा लुकेका छन् । 

    ११. होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड

    नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ । आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । 

    १२. होलीः सडकमा पोखिएको इन्द्रेणी

    बिहानीको कलिलो घामले सडकलाई स्पर्श गर्दा, कालो पत्रे सडक आज अलि फरक देखिन्छ । मानौं, यो कुनै महान चित्रकारको खाली क्यानभास हो । जो रङहरूको पहिलो थोपाको प्रतिक्षामा छ । हावामा एउटा छुट्टै सुगन्ध छ—अबीरको धुलो र भर्खरै फुलेका फूलहरूको सम्मिश्रण । यो रातो रङ प्रेमको हो, पहेंलो मित्रताको । आज कोही पराई छैन, सबै आफ्ना हुन् । सडकले हामीलाई जोडेको छ । सडक अब सडक रहेन, यो त एउका उत्सवको मैदान बनेको छ । पानीका फोहोराहरूमा इन्द्रेणी झुल्किएका छन् । मानिसहरूका अनुहार चिनिँदैनन्, तर उनीहरूको हाँसो प्रस्ट देखिन्छ । 

    १३. ग्रीकवासीद्वारा रेल दुर्घटनाको तेस्रो वार्षिकोत्सवमा विरोध प्रदर्शन

    ग्रीकमा दर्जनौं प्रदर्शनहरूमा हजारौं मानिसहरू सहभागी भएका छन् । यस दुर्घटनामा ५७ जनाको ज्यान गएको थियो । पीडित परिवारहरूको संघद्वारा आयोजित मुख्य ¥याली ग्रीक संसद भवन अगाडि भएको थियो । यसलाई विपक्षी दलहरू र श्रम युनियनहरूले समर्थन गरेका थिए, जसले २४ घण्टे हड्ताल पनि आह्वान गरेका थिए जसले सार्वजनिक यातायात सेवाहरू प्रभावित भए । विद्यार्थी संघहरू पनि यस आन्दोलनमा सामेल भएका थिए । किनकि पीडितहरूको अधिकांश विश्वविद्यालयका विद्यार्थीहरू थिए जो छुट्टीपछि पढाइमा फर्किरहेका थिए । प्रदर्शनकारीहरूले न्यायको माग गर्दै ब्यानर बोकेका र नारा लगाएका थिए । यो ¥याली रेलवेका दर्जनौं कर्मचारी र अधिकारीहरूको मुद्दा शुरु हुनुअघि भएको हो । जुन मार्च २३ बाट शुरु हुँदैछ । 

    १४. दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु

    भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको काकिनाडा जिल्लामा एक पटाका उत्पादन गर्ने कारखानामा भीषण विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । विस्फोट भएको स्थान वेटलापालेम गाउँ (समार्लकोटा मण्डल) मा रहेको सूर्या श्री फायरवक्र्स नामक कारखाना हो । मृतकमध्ये केही महिला पनि थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये केहीको अवस्था गम्भीर छ । मिडिया रिपोर्टकाअनुसार घटना हुँदा करिव ३५ देखि ४० जना कामदारहरू विस्फोटक पदार्थ मिसाएर पटाका बनाइरहेका थिए । 

    १५. पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते

    पाकिस्तानमा आईतवार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ । अन्य १०० भन्दा बढी घाइते भएका छन् । कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए । प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धकाअनुसार बताइएको छ । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पु¥याइएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको रेस्क्यु ११२२ सिन्धका प्रवक्ता हसन उल हसीवले बताउनु भयो । अमेरिकी दुतावास इस्लामाबादले विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दुतावासहरू तथा इस्लामाबादको दुतावास र पेशावरको वाणिज्य दुतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ । 

    १६. पाकिस्तानले काबुलमा हवाई हमला गरेको अफगानिस्तानको आरोप

    अफगानिस्तानको राजधानी काबुलमा आईतवार साँझ ७ बजे पाकिस्तानी हवाई हमला भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता एनायतुल्लाह खोराज्मीले पाकिस्तानी लडाकु विमानहरूको ठूलो संख्याले काबुलको हवाई क्षेत्रमा प्रवेश गरेको बताउनुभएको हो । जसलाई रोक्न अफगान वायु रक्षा बलहरूले प्रभावकारी रूपमा हस्तक्षेप गरेका थिए । यसैबीच, अफगान स्थानीय मिडियाले रिपोर्ट गरेका छन् कि अफगान सेनाले पाकिस्तानको राजधानी इस्लामाबाद र पेशावर शहरमा ड्रोन आक्रमण गरेको छ । पछिल्ला दिनहरूमा अफगानिस्तान र पाकिस्तानबीच सैन्य तनाव तिब्र बनेको छ । जसमा पटक–पटक गोली हानाहान र आक्रमणहरू भएका छन् । यो घटनाले दुई छिमेकी देशहरूबीचको द्वन्द्वलाई थप उग्र बनाएको छ । 

    १७. बग्दादमा अमेरिका–इजरायलको इरानमाथिको आक्रमणविरुद्ध प्रदर्शन

    इराकको राजधानी बग्दादमा ठूलो संख्यामा मानिसहरूले अमेरिका र इजरायलको इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले अमेरिकी दुतावासतर्फ जाने सडकको प्रवेशद्वार नजिकैको सस्पेन्सन ब्रिज (झोलुङ्गे पुल) नजिकै भेला भएका थिए । उनीहरूले नारा लगाउँदै तत्काल युद्धविरामको माग गरेका छन् । यो प्रदर्शन इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या र इरानमाथि संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि भएको क्षेत्रीय तनावको प्रतिक्रियास्वरूप भएको हो । प्रदर्शनकारीहरूले अमेरिकी सेनाको इराकबाट फिर्ता र इजरायलविरुद्ध प्रतिशोधको नारा लगाएका थिए । प्रदर्शनका क्रममा सुरक्षा बलले टियर ग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई तितरबितर पारेका छन् । जसले गर्दा केही स्थानमा झडप भएको थियो। यो घटनाले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई थप जटिल बनाएको छ ।

    १८. मौन अवधिमा हुनसक्ने सामाजिक सञ्जालको दुरुपयोगमा आयोगको निगरानी

    डिजिटल प्रचार सामाग्रिको निगरानी बढाउँदै आयोगः सोमवार रातीदेखि मौन अवधि शुरु
    बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार अर्थात् आज राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि शुरु हुँदैछ । मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । कुनैपनि निर्वाचनमा उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ । आयोगले ४ गतेदेखि १८ गते सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्ने बताउनु भयो । 

    १९. बसन्तपुरमा होलीको उल्लास

    फागुन शुक्ल पूर्णिमाको दिन सोमवार काठमाडौंको हनुमानढोका दरबार क्षेत्रसहित देशका पहाडी र हिमाली क्षेत्रमा होली पर्व मनाइएको छ । बसन्तपुरमा विभिन्न देशका पर्यटकहरूले स्थानीयसँग मिलेर आपसमा रंग दलेर होली पर्व मनाएका छन् । फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक नदेखिएपनि वसन्तपुरमा बिहानैदेखि होली खेलिरहेकाच छन् । यहाँ एकअर्कामा रङ लगाई सद्भाव, सम्मान र मायाका साथ होली खेल्ने परम्परा रहीआएको छ । 

    २०. काठमाडौंको सडक सुनसान

    निर्वाचनको मौन अवधि शुरु हुनै लाग्दा काठमाडौंको सडक सुनसान देखिएको छ । मतदाताहरु आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि आज होली पर्वका दिन पनि काठमाडौंको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन । अब फागुन २१ गते अर्थात मतदानका लागि ३ दिन मात्रै बाँकि छ । राजनीतिक दल र त्यसका उम्मेदवारहरु आज बेलुका राति १२ बजेबाट मौन अवधि शुरु हुने भएपछि उनीहरुले यतिखेर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित चुनावी प्रचार अभियानको विट मार्ने तयारीमा छन् । 

    २१. निर्वाचनपछि काँग्रेस सबैभन्दा ठूलो दलको रुपमा आउँदैछः विश्वप्रकाश शर्मा

    नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ । सोमवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो । पार्टी निर्वाचन परिचालन समितिकी संयोजक समेत रहनुभएका उपसभापति शर्माले दोस्रो ठूलो दलभन्दा फराकिलो अन्तरले आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने ठोकुवा गर्नुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली काँग्रेस पहिलो शक्ति बन्ने आँकलन पनि आफूहरुले गरेको बताउनु भयो । 

    २२. पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

    चालु आर्थिक वर्ष (आ.व.) २०८२÷८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन । जेठ १५ मा सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब बराबर विकासका लागि बजेट छुट्टाएको थियो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुँजिगत शीर्षकमा छुट्टाइएको बजेटमध्येबाट फागुन १७ सम्ममा ७५ अर्ब ८३ करोड ४३ लाख मात्रै खर्च भएको छ । यो खर्च उक्त शिर्षकमा १८.५९ प्रतिशत मात्रै हो । सरकारले चालु आ.व.को आठ महिना बित्न लाग्दा समेत १ खर्ब पनि विकास बजेट खर्च गर्न नसकेको यो तथ्यांकले देखाएको छ ।

    २३. विवेक प्रयोग गरेर योग्य र इमान्दार उम्मेदवार छनोट मतदाताहरूलाई काँग्रेसको अपिल 
     
    नेपाली काँग्रेसले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर योग्य र इमान्दार उम्मेदवार छनोट गर्न अपिल गरेको छ । सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै प्रवक्ता देवराज चालिसेले यस्तो अपिल गर्नुभएको हो । प्रत्येक मतले समृद्ध र भ्रष्टाचारमुक्त नेपालको आधार तयार गर्ने भन्दै विवेकपूर्ण निर्णय गर्न उहाँले आग्रह गर्नुभयो । प्रवक्ता चालिसेले पार्टीको चुनाव प्रचारको अवस्थाबारे जानकारी दिँदै यस बिचमा विभिन्न राजनीतिक दल परित्याग गरी ५ हजार ८ सय ५३ जना प्रभावशाली नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन प्रचारप्रसारको क्रममा कांग्रेसले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेको दाबी गर्दै अन्य दलहरूबाट भएका उल्लङ्घनका घटनाप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गरायो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :फाल्गुण १८ २०८२ सोमवार - १९:५३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij