२०८२ फाल्गुण १५ गते शुक्रवार
१. रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्पः ‘म कामदार हुँ, जनता मालिक’
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनुभएको हो । उहाँले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराउनु भयो । शर्माले रुकुममै ३ सय शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताउनु भयो । यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पु¥याउने उहाँको दाबी छ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो । युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिनुभयो ।
२. मलाई चितवन ३ सँग जोड्नु रेणु र म दुवैमाथिको अन्याय होः पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाउनुभएको छ । आफू चितवन ३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताउनुभएको हो । दाहालले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको स्पष्ट पार्नुभयो । चितवन ३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने जिकिर गर्नुभयो । उहाँले आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको बताउनु भयो । रेणु दाहालले विगत ९ वर्षमा गरेको काम नै उहाँको प्रचारको मुख्य आधार भएको दाहालको भनाइ छ ।
३. बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने
२ हजार ४ सय ९ कुष्ठरोग संक्रमितमध्ये १ सय ५४ जना बालबालिका भेटिएपछि सरकार चिन्तित, सबै निकायबीच समन्वय गर्ने प्रतिवद्धता
सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएपछि सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको हो । कुष्ठरोग केवल एउटा स्वास्थ्य समस्या मात्र नभएर मनोवैज्ञानिक, सामाजिक, आर्थिक र मानव अधिकारसँग जोडिएको गम्भीर विषय भएको सरोकारवालाहरूले बताए । नेपालले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरे पनि हाल १६ जिल्लामा यसको प्रकोप पुनः देखिएको उनीहरुले बताए । बालबालिकाहरूमा समेत संक्रमण दर उच्च रहेको भन्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरुको जोड छ । कानून निर्माण भएपनि कार्यान्वयनमा देखिएको फितलोपन र सामाजिक विभेदका कारण कुष्ठरोग निवारणमा चुनौती थपिएको विज्ञहरूको ठम्याइ छ ।
४. फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ (मदिरा) विक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिवन्ध लगाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसमा आयोगले उक्त निर्णय गरेको हो । आयोगले निर्वाचनको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समेत गरेको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा वस्तुस्थितिको सुक्ष्म आँकलन गर्दै यस्तो सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । मदिरा सेवनका कारण हुनसक्ने सम्भावित झडप र अशान्तिलाई रोक्न यो कदम चालिएको उहाँको भनाइ छ ।
५. प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । कुटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उहाँले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । सचिव राउतकाअनुसार यस निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन् । जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेका छन् । मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् । साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रहरूको समेत व्यवस्था गरिएको छ ।
६. नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको पूर्वाभ्यास भइसकेको बताउनुभएको हो । प्रवक्ता चालिसेले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको स्थिति सम्हाल्न र लोकइच्छा मुताविक समृद्ध राष्ट्रका लक्ष्यहरू पूरा गर्नसक्ने एक मात्र दल काँग्रेस भएको जिकिर गर्नुभयो । उहाँले निर्वाचन अघिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको रक्षाका लागि नागरिकहरूले देखाएको समर्थनप्रति आभार समेत प्रकट गर्नुभयो ।
७. निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि मुलुकमा ‘त्रिशंकु संसद’ (हङ पार्लियामेण्ट) बन्ने प्रक्षेपण गर्नुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निार्वचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद बन्ने दाबी गर्नुभएको हो । सातै प्रदेशको चुनावी अभियानबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण एकल बहुमतको सम्भावना नरहेको बताउनु भयो । दाहालले आफ्नो पार्टीको आन्तरिक अध्ययन र अनुसन्धानका आधारमा यस पटकको निर्वाचनमा चारवटा मुख्य राजनीतिक धाराहरूबीच प्रतिष्पर्धा हुने उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । पार्टीलाई अवमूल्यन गर्ने प्रवृत्ति समाजमा रहेको गुनासो गर्दै उहाँले राम्रो गर्न सक्दा नेकपा अगाडि आउने सम्भावना रहेको बताउनु भयो ।
८. निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । कुटनीतिक नियोगका प्रमुखहरू, संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका आवासीय प्रतिनिधिहरू तथा विकास साझेदारहरूलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका लागि स्म्पूर्ण तयारी पूरा भएको बताउनुभएको हो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आयोग प्रतिवद्ध रहेको बताउनु भयो । निर्वाचनको सुचारु सञ्चालन र पर्यवेक्षणका लागि आयोगले निर्वाचन सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति स्थापना गरेको उहाँले जानकारी दिनुभया । साथै, निर्वाचनको समयमा फैलिन सक्ने भ्रामक सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति विरुद्ध आयोगले कडा कदम चालेको स्पष्ट पार्नुभयो ।
९.देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् र जसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्राधिकरणकाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मा सत्य नारायणको पूजा भइरहेको अवस्थामा चट्याङ पर्दा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ । सोही घटनामा अन्य दुई जना घाइते भएका छन् । देशभरका विभिन्न विपद्बाट कुल १८ लाख ३३ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ भने २५ वटा चौपायाको क्षति भएको छ । गत २४ घण्टामा आगलागीका कारण उल्लेख्य क्षति पुगेको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा विद्युत सर्ट भई आगलागी हुँदा ५ लाख ५० हजार बराबरको क्षति भएको छ । कपिलवस्तुको चोरेखोलामा ग्यास लिक भएर २ लाख ५० हजार र दाङको तुलसीपुरमा १ लाख ८० हजार बराबरको क्षति भएको छ । मोरङ, सप्तरी, सिरहा, रौतहट, र लमजुङ लगायतका जिल्लामा पनि आगलागीका घटनाहरू भएका छन् । सिरहा र सर्लाहीमा आगलागीमा परी दुई जना घाइते भएका छन् ।
१०. दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव लड्छौँ’
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने निर्वाचन राष्ट्रको स्वाधीनता र परिवर्तनको रक्षा गर्ने कडी भएको बताउनुभएको छ । बिहीवार पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा देखिएका दुई अतिवादी प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको हो । संयोजक दाहालले वर्तमान निर्वाचन कुनै नियमित प्रक्रिया नभई देशको असहज परिस्थितिले निम्त्याएको निकास भएको बताउनु भयो । जेन–जी आन्दोलनका क्रममा भएका घटनाक्रम र देशको राजनीतिक उतारचढावलाई हेर्दा निर्वाचन नै तुलनात्मक रूपमा सहज विकल्प भएको उहाँको तर्क छ ।
‘सिङ्गै राष्ट्र निर्वाचन प्रक्रियामा संलग्न भइसकेको छ र अब निर्वाचन सुनिश्चित भएको छ ।’ उहाँले भन्नुभयो ।
११. कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ । बिहीवार निर्वाचन आयोगले नेपालमा रहेका सबै कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार निर्वाचन केवल आन्तरिक सरोकारको विषय मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय हुने भएकाले नेपालको निर्वाचनमा विश्व समुदायको सकारात्मक सहयोग र सहभागिताका लागि ‘ब्रिफिङ’ गरिएको हो । नेपालमा रहेका सबै विदेशी दुतावास, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारहरूलाई निर्वाचनका गतिविधिबारे जानकारी (ब्रिफिङ) गराउने परम्परा विगतदेखि नै रहेको आयोगले जनाएको छ । ब्रिफिङपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगका प्रवक्ता भट्टराईले कुटनीतिक समुदायलाई निर्वाचनका बारेमा सत्य–तथ्य जानकारी लिन–दिन र पर्यवेक्षणका लागि आवश्यक तयारी गर्न यसले सहज हुने बताउनु भयो ।
१२. ओली झापा–५ बाटै चुनाव लड्नु स्वाभाविक होः पुष्पकमल दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार दिने विषय स्वाभाविक भएको बताउनुएको छ । ओलीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र रोज्नु एमालेको आन्तरिक निर्णय भएको भन्दै यसमा कुनै विशेष टिप्पणी गर्न आवश्यक नरहेको बताउनुभएको हो । बिहीवार पत्रकार सम्मेलनका क्रममा उहाँले ओली र झापा ५ को सम्बन्ध पुरानो भएको स्मरण गराउनु भयो । एमाले अध्यक्ष ओलीले झापालाई नै आफ्नो मुख्य चुनावी आधार क्षेत्र बनाउँदै आएको सन्दर्भमा यसलाई सामान्य राजनीतिक प्रक्रियाको रूपमा व्याख्या गर्नुभयो । विगतका निर्वाचनहरूमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको थियो ।
१३. आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन समयमै सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पत्रकार सम्मेलनका क्रममा बोल्दै उहाँले प्रतिवेदन बुझाउने समय पटक–पटक सार्दै अन्ततः चुनाव पछि प¥ुयाउने सरकारको रणनीति गलत भएको बताउनुभएको हो । दाहालले आयोगको काममा हुने ढिलासुस्ती र म्याद थपको प्रवृत्ति गलत भएको बताउनु भयो । उहाँकाअनुसार कामको चापले गर्दा एक वा दुई पटक समय सार्नु स्वभाविक भएपनि तेस्रो पटक पनि सार्नु र निर्वाचनको मुखमा पु¥याउनु नियोजित देखिन्छ । उहाँले दोषी जोसुकै भएपनि उनीहरूलाई कानूनी दायरामा ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्दा न्याय सम्पादनमा असर पर्ने र दोषीले उन्मुक्ति पाउने खतरा रहने उहाँको तर्क छ ।
१४. असहज परिस्थितिमा निर्वाचन सुनिश्चित, देशलाई निकास दिन निर्वाचन नै विकल्पः पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान असहज परिस्थितिलाई सहज निकास दिन फागुन २१ गतेको निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले थुप्रै संशय र विवादका बीच निर्वाचन सुनिश्चित भएको र यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभएको हो । संयोजक दाहालले जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमलाई स्मरण गर्दै आजको सन्दर्भमा निर्वाचन नै देशका लागि तुलनात्मक रूपमा सहज निकास भएको उल्लेख गर्नुभयो । निर्वाचन सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको अवस्थामा सिङ्गै राष्ट्र निर्वाचन प्रक्रियामा होमिएको उहाँको भनाइ छ । दाहालले यो निर्वाचन कुनै सामान्य वा नियमित प्रक्रिया नभई विशेष र असहज परिस्थितिमा आइलागेको चुनौती भएको बताउनु भयो । दाहालले निर्वाचनलाई सफल पार्नु समाजका सबै तह र तप्काको साझा जिम्मेवारी भएकोमा जोड दिनुभयो ।
१५. ‘व्यवस्था फे¥यौं, अब अवस्था फेर्छौं’ः नेपाली कम्युनिष्ट पार्टी
नेपाली कम्युनिष्ट पार्टीले आगामी, २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो औपचारिक अपिल (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिस डाँडामा बिहीवार औपचारिक अपिल सार्वजनिक गरेको हो । अपिलमा मुलुकको विद्यमान राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने संकल्प गरिएको छ । अपिल सार्वजनिक गर्दै पार्टीका नेता डा. वेदुराम भुसालले राष्ट्रियता र संघीयताको रक्षा अपिलमा वाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको बताउनु भयो । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउँदै पार्टीले संघीयता, समानुपातिक र समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको बताउनु भयो ।
१६. ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’ः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गर्नुभएको छ । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसले अबको ५ वर्षमा देशको अवस्था बदल्ने र मुलुकलाई कुनैपनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिवद्धता जनाउनु भयो । मधेसदेखि कर्णालीसम्मको यात्रा गर्दै चुनावी अभियानमा होमिनुभएका थापाले आसन्न निर्वाचन संविधानलाई सही बाटो (ट्रयाक) मा राख्नका लागि अनिवार्य शर्त भएको बताउन ुभयो ।
१७. अफगानिस्तानको गोलीबारीको जवाफ दियौँः पाकिस्तानी अधिकारी
पाकिस्तानी प्रधानमन्त्रीको विदेशी मिडियाका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानले अफगानिस्तानको उक्साहटपूर्ण गोलीबारीको तत्काल र प्रभावकारी जवाफ दिएको बताउनुभएको छ । अफगान पक्षले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा तोर्खम र तिराह उप–क्षेत्रहरूमा उक्साहटपूर्ण गोलीबारी शुरु गरेको थियो । जुन पाकिस्तानको उत्तर–पश्चिम खैबर पख्तूनख्वा प्रान्तमा पर्छ । पाकिस्तानी सुरक्षा बलहरूले तुरुन्तै र प्रभावकारी रूपमा जवाफ दिएका उहाँको भनाइ छ । देशले आफ्ना नागरिकहरूलाई संरक्षण गर्न तथा क्षेत्रीय अखण्डताको रक्षा गर्न जारी राख्नेछ । यसअघि अफगानिस्तानको रक्षा मन्त्रालयका उप–प्रवक्ता सेदिकुल्लाह नुसरतले पाकिस्तानी बलहरूले अफगान सुरक्षा कर्मचारीहरूमाथि गोली चलाएपछि द्वन्द्व शुरु भएको बताउनु भयो । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले आईतवार गरेको हवाई हमलाको जवाफ अफगानिस्तानले दिने बताउनुभएको थियो । अफगान पक्षकाअनुसार पाकिस्तानी सेनाले सीमा क्षेत्रमा हवाई हमला गरेको थियो जसमा १८ जना मारिएका र ५ जना घाइते भएका थिए ।
१८. आइएस–सम्बन्धित शिविरबाट ठूलो संख्यामा भागेको घटनापछि सिरियाको स्पष्टीकरण
सिरियाली अधिकारीहरूले अल–होल नामक हिरासत शिविरमा भएको अराजकता कुर्द–नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसको अचानक र असमाञ्जस्यपूर्ण फिर्तीका कारण भएको बताएका छन् । यसले ठूलो संख्यामा मानिसहरू भाग्न पुगेको र सुरक्षा चिन्ता बढाएको छ । इराकी सीमाना नजिकै अवस्थित यो शिविरमा इस्लामिक स्टेटका संदिग्ध लडाकुहरूका आफन्तहरूका साथै विस्थापित नागरिकहरूलाई राखिएको थियो । सिरियाली अधिकारीहरूले जनवरीको मध्यतिर आइएससँग भएका विभिन्न सम्झौतापछि पूर्वोत्तर क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाउँदै शिविरमा प्रवेश गर्न थालेका थिए । पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता नुरेद्दिन अल–बाबाले सिरियाली सेनाका युनिटहरू शिविरमा प्रवेश गर्न तयार हुँदै गर्दा आइएसले केही घण्टा अघि नै पूर्व सूचना बिना नै फिर्ता लिएको बताउनु भयो ।
१९. इरानसँगको टकराव कुटनीतिमार्फत समाधान गर्न चाहन्छौँः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्न आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनीहरूसँग वार्तामा रहेको बताउनु भयो । ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहो¥याउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा कुरा निश्चित छ— म विश्वको नम्बर एक आतंकवाद प्रायोजक राष्ट्रलाई आणविक हतियार हुन दिनेछैन ।’उहाँले इरानले आफ्नो आणविक कार्यक्रम पुनः शुरु गर्ने प्रयास गरिरहेको आरोप लगाउनु भयो । जसलाई गत वर्षको अमेरिकी हमलाले पूर्ण रूपमा नष्ट गरेको उहाँको दाबी छ ।
यो सम्बोधनपछि इरानले ट्रम्पका दाबीलाई ‘ठूलो झूट’ भन्दै खण्डन गरेको छ । अमेरिका र इरानबीच आणविक मुद्दामा वार्ता जारी छ ।
२०. टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु
टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा बुधवार टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा जेटका पाइलटको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार स्थानीय समयअनुसार राति १२ः५६ बजे (जीएमटी २१ः५६) बालिकेसिरको ९ औं मुख्य जेट बेस कमान्डबाट उडान भरेको उक्त एफ–१६ सँग रेडियो सम्पर्क तथा स्थानको जानकारी हराएको थियो । तुरुन्तै शुरु गरिएको खोज तथा उद्धार कार्यमा विमान दुर्घटनाग्रस्त भएको पुष्टि भएको र यसको भग्नावशेष फेला परेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको मन्त्रालयले बताएको छ । पाइलटलाई शहीद घोषणा गर्दै मन्त्रालयले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । यो घटना इस्तानबुल–इज्मिर राजमार्ग नजिकै भएको बताइएको छ । जसले गर्दा क्षेत्रमा व्यापक भग्नावशेष छरिएको थियो ।
२१. ट्रम्पद्वारा सर्वोच्च अदालतको ट्यारिफ निर्णयको अवहेलना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै आफ्नो ग्लोवल ट्यारिफ नीतिलाई निरन्तरता दिने संकेत दिनुभएको छ । स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले सर्वोच्च अदालतको फैसलालाई धेरै दुःखद् भएको बताउनुभएको थियो । अमेरिकी सर्वोच्च अदालतले गत शुक्रवार ट्रम्पको राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग गरिएको कानूनअन्तर्गत लगाइएका व्यापक ट्यारिफहरूलाई गैरकानुनी ठहर गरेको थियो । ६–३ को बहुमतबाट आएको फैसलामा अदालतले इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट अन्तर्गतका ट्यारिफ नीतिहरू असंवैधानिक भएको बताएको छ । यसले अप्रिलदेखि ट्रम्पले लागू गरेका ग्लोबल ट्यारिफहरूलाई पूर्ण रूपमा खारेज गरेको छ । ट्रम्पले फैसलालाई दुःखद् भन्दै यसलाई बेवास्ता गर्दै पुराना व्यापार सम्झौताहरू कायम राख्ने तथा आवश्यक परे नयाँ र कडा सम्झौता गर्ने धम्की दिनुभएको छ ।
२२. ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको बताउनुभएको छ । यो भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई जनवरीमा अमेरिकी सेनाले जबरजस्ती नियन्त्रणमा लिएपछि भएको हो । ट्रम्पले सम्बोधनमा अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको बताउनु भयो । भेनेजुएलालाई नयाँ मित्र तथा साझेदारका रुपमा चित्रण गर्दै उहाँले भेनेजुएलाबाट अमेरिकाले ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेका बताउनु भयो । जनवरी ३, २०२६ मा अमेरिकी विशेष सेनाले ाराकासमा आक्रमण गरी मदुरोलाई पक्राउ गरेको थियो । मदुरोलाई ड्रग ट्राफिकिङ तथा अन्य अपराधका आरोपमा न्यूयोर्कको अदालतमा लगिएको छ ।
२३. पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले बुधवार उच्च अदालतमा अपील दायर गर्नुभएको छ । यो अपील युनलाई दिइएको सजाय तथा अदालतको तथ्यगत निष्कर्ष र कानुनी व्याख्यामा चासो व्यक्त गर्दै गरिएको हो । विशेष अभियोजकले यो अपीलले दोषी ठहरिएका सबै व्यक्तिहरूको दोष र सजाय दुवैलाई समेटेको बताएका छन् । अभियोजन पक्षकाअनुसार युन तथा अन्य अभियुक्तहरूले सन् २०२४ डिसेम्बरमा छोटो समयका लागि घोषणा गरिएको मार्सल ल (सैन्य शासन) मार्फत संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रयास गरेका थिए । युनलाई अभियोजन पक्षले यो घटनाको मुख्य योजनाकारको रूपमा चिनाएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनलाई यसअघि आजीवन कारावासको सजाय सुनाएको थियो । विशेष अभियोजकले आरोपको गम्भीरता र देशको लोकतान्त्रिक प्रणालीमा परेको प्रभावलाई ध्यानमा राख्दै उच्च अदालतबाट थप न्यायिक समीक्षा आवश्यक रहेको तर्क गरेका छन् ।
२४. प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध टोकियोमा प्रदर्शन
टोकियोमा ठूलो संख्यामा जापानी नागरिकहरूले प्रधानमन्त्री सानाए ताकाइचीको नीतिको विरोधमा प्रदर्शन गरेका छन् । यसमा संविधान संशोधनलाई तिब्रता दिने, सैन्य क्षमता विस्तार गर्ने र राष्ट्रिय खुफिया कार्यहरूलाई मजबुत बनाउने जस्ता नीतिहरू समावेश छन् । प्रदर्शनकारीहरूले देशको भविष्यको दिशाप्रति चिन्ता व्यक्त गरेका छन् । यो ¥याली विभिन्न नागरिक समूहहरूले संयुक्त रूपमा आयोजना गरेको हो । जसले प्रतिनिधिसभाको दोस्रो सदस्य कार्यालय भवन अगाडि भेला भएका थिए । सहभागीहरूले संविधान संशोधनको विरोध र फासिजमलाई पिंजडाबाट ननिस्काउनु जस्ता प्लेकार्ड बोकेका थिए भने युद्ध नहोस् जस्ता नारा लगाएका थिए ।
फेब्रुअरी २० मा, ताकाइचीले संसदमा नीति भाषण गर्दै संविधान संशोधनप्रति आफ्नो दृढ प्रतिवद्धता दोहो¥याएकी थिइन् । उनले जापानको रक्षा क्षमता मूल रूपमा मजबुत बनाउने, घातक हतियारको निर्यात विस्तार गर्ने र राष्ट्रिय खुफिया क्षमता बढाउने कुरा गरेकी थिइन् । यी टिप्पणीहरूले जापानी समाजमा व्यापक चिन्ता र आलोचना निम्त्याएको छ ।
२५. उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्यले उद्योग तथा बजार अनुगमन नियमित भइरहेको बताउनुभएको छ । विभागमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उहाँले विभागको अनुगमन र निरीक्षण अब केवल दशैँ–तिहार वा कुनै विशेष चाडपर्वमा मात्रै सिमित नहुने बताउनुभएको हो । उहाँले विभागले समयअनुसार बजार अनुगमन गर्ने जानकारी दिनुभयो । उहाँकाअनुसार विभागले यसअघि मुख्यतया आयातित खाद्य सामग्रीमा ध्यान केन्द्रित गरेको थियो भने हाल दुध, पानी र विभिन्न खाद्य उत्पादनहरूमा निगरानी बढाएको छ । उहाँले होटलहरूको निरीक्षणमा पनि विशेष ध्यान दिएको जानकारी दिनुभयो । उहाँले विभागले मौलिक उत्पादनहरुको स्तर निर्धारणको काममा पनि विशेष महत्व दिएर अगाडी बढाएको जानकारी दिनुभयो । परम्परागत खाद्य उत्पादनहरूलाई संसारभर प्रवर्धन गर्नको लागि पनि स्तर निर्धारण आवश्यक रहेको उहाँको भनाई छ । परम्परागत तथा मौलिक खाद्य पदार्थहरुको व्यवसायिक उत्पादन भइरहेकोले यसको मापदण्ड निर्धारण गर्नु विभागको जिम्मेवारी भएको उहाँले बताउनु भयो । उहाँले गुन्द्रुक, मस्यौरा जस्ता परम्परागत खाद्य पदार्थहरूको मापदण्ड तय गरेको र बाँकी रहेका उत्पादनहरूको मापदण्ड पनि निर्धारण गर्दै जाने जानकारी दिनुभयो ।
२६. खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई गरेको छ । विभागले बिहीवार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक विवरणमा आयात अनुमतिपत्र जारीदेखि विषादी परीक्षणसम्मका गतिविधिमा कडाइ गरिएको उल्लेख छ । विभागले चालु आर्थिक वर्षको ६ महिनामा ७ हजार ८ सय ७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरेको थियो । तर आवश्यक कागजात अधूरा, पूर्ण लेबल विवरण नभएका वा सेवाग्राहीको माग अनुसारका मसला, कच्चा तेल, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज लगायत २२९ वटा कन्साइन्मेन्टको अनुमति खारेज गरिएको विभागका प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिनुभयो । विभागले आयात अनुमति पत्र नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्रदान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विभागले निर्यात प्रयोजनका लागि प्रयोगशाला परीक्षण र हेल्थ सर्टिफिकेट जारी गरी निर्यातलाई सहज बनाएको छ । विभिन्न खाद्य पदार्थहरू जस्तै छुर्पी, चिउरा, अचार, मसलाजन्य पदार्थ, फ्रेस अदुवा, मह, प्रशोधित वनस्पति तेल, चिया, कफी—विभिन्न देशमा निर्यातका लागि प्रमाणपत्र जारी गरिएको प्रवक्ता डा. शर्माले जानकारी दिनुभयो ।
२७. बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गर्नुभएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीवार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गर्नुभएको हो । उहाँले बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउन पनि बीमा प्राधिकरणसँग आग्रह गर्नुभयो । उहाँले नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरु परम्परागत नीतिका कारण अझै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उहाँको भनाइ छ । अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताउनु भयो । उहाँकाअनुसार बीमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ ।
२८. युवापुस्तालाई राजेन्द्र लिङदेनको आग्रहः ‘फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । विहीवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गर्नुभएको हो । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उहाँले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गर्नुभयो । उहाँले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताउनु भयो । उहाँले हाल देशको अस्तित्व नै संकटमा परेको बताउनु भयो । उहाँले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताउनु भयो । उहाँका अनुसार देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो । उहाँले राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गर्नुभयो ।
२९. सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिकाअनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो । सबै मतपत्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा पु¥याइसकिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार आयोगले २०८२ माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ शुरु गरेको थियो ।
३०. विभागद्वारा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति, ४ सय ३५ वटा खोल्न सिफारिस
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ६ महिनामा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति दिएको छ । विभागले बिहीवार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको कार्य प्रगतिअनुसार विभाग तथा विभाग मातहतका प्रदेशस्थित आठ वटा कार्यालयहरूबाट ती उद्योगलाई अनुमतिपत्र जारी गरिएको हो । सो अवधिमा विभागले ४ सय ३५ वटा नयाँ उद्योग खोल्नको लागि सिफारिस गरेको छ । विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले ६ महिनामा १ हजार २ सय १८ वटा उद्योगको नविकरण गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार दोस्रो त्रैमासमा मात्र्र ३ सय ३३ वटा उद्योग अनुज्ञापत्र नवीकरण तथा ४२१ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरी ९ सय ४२ वटा उद्योगलाई अनुमतिपत्र जारी÷नवीकरण÷सिफारिस गरिएको थियो ।
३१. ओली र बालेन ‘दुवै अतिवादी’ः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेन–जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गर्नुभएको छ । बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै जेन–जी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको भन्दै दुवै अतिवादी सोच भएको टिप्पणी गर्नुभयो । यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग नेपाली काँग्रेस असहमत रहेको स्पष्ट पार्नुभयो । उहाँले अब सरकारको गोलीबाट कुनैपनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुुपर्ने बताउनु भयो ।
३२. निर्वाचन आयोगद्वारा दुई उम्मेदवार र एक राजनीतिक दललाई २५ हजार रुपैयाँ जरिवाना
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो । त्यसैगरी श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको जानकारी दिनुभयो । आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाही स्वरुप २५ हजार रुपैया जरिवाना तिराउने नर्णय गरेको हो ।
३३. प्राप्त उपलब्धिको रक्षा र राजनीतिक स्थिरताका लागि नेपाली काँग्रेस नेतृत्वको सरकार अपरिहार्यः उपसभापति भुसाल
नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन निर्वाचनपछि नेपाली काँग्रेस नेतृत्वमा स्थायी सरकार निर्माण अपरिहार्य भएको बताउनुभएको छ । बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले यस्तो बताउनुभएको हो । उहाँले पुस्तान्तरणको मुद्दालाई पार्टीले स्थापना गरिसकेको दाबी गर्दै आउने प्रदेश र स्थानीय तहको निर्वाचनसम्म प्रतिज्ञा प्रत्रको कार्यान्वयनबारे मतदाताले प्रश्न गर्ने वातावरण सिर्जना हुन नदिने प्रतिवद्धता समेतच व्यक्त गर्नुभयो । उहाँले महिला, दलित र जनजातिलाई मुलुकको विकासको मूलधारमा ल्याउन नयाँ दृष्टिकोणसहित परिवर्तनको नेतृत्व गरेको काँग्रेसलाई मतदान गर्न समेत अपिल गर्नुभयो । कानून, नियम र संविधानभन्दा माथि कोही पनि नहुने शासन प्रणाली स्थापित नभएसम्म राजनीतिक उपलब्धिको संरक्षण गर्न नसकिने उल्लेख गर्दै उहाँले त्यसको लागि फागुन २१ को निर्वाचनपछि काँग्रेसको सरकार अनिवार्य भएको जिकिर गर्नुभयो ।
३४. संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ । बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो । उहाँले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहो¥याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको पनि बताउनु भयो । उहाँले केही तत्वहरुले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाउनु भयो । निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरु चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दाबी गर्नुभयो । अगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति काँग्रेस जनतासामु गएको जिकिर गर्दै उहाँले अब कुनैपनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने प्रतिज्ञा दोहो¥याउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनाव आउन अब केही दिन मात्र बाँकी छन् । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij