Logo

२०८२ फाल्गुण १५ गते शुक्रवार

२०८२ फाल्गुण १५ गते शुक्रवार

२२ दल मिलेर बनेको नेकपाको चुनावी अपिल सार्वजनिक

२२ दल मिलेर बनेको नेकपाको चुनावी अपिल सार्वजनिक


  • 771
    Shares

    २२ दल मिलेर बनेको नेकपाको चुनावी अपिल सार्वजनिक

    काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले  बिहीबार आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ।

    पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न तारा चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आह्वान गरिएको छ। 

    व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौ भन्ने मुख्य नारासहित पार्टीले सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई प्रमुख चुनावी मुद्दा बनाएको छ।

    वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल भएको निष्कर्ष निकाल्दै यस पार्टीले चुनाव प्रणालीमै परिवर्तन गर्ने उद्घोष गरेको छ। कुनै पनि दलको एकल बहुमत नआउने र गठबन्धनका कारण देशमा अस्थिरता निम्तिएको भन्दै कम खर्चिलो र सरल निर्वाचन प्रणाली अपनाउनुपर्नेमा पार्टीले जोड दिएको छ। 

    त्यसैगरी, जनताको बलिदानबाट प्राप्त वर्तमान संविधानलाई खारेज गर्ने अतिवादी सोचलाई परास्त गर्दै, संविधानको गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने अठोट पार्टीले लिएको छ। लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीलाई थप सुदृढ गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य अपिलमा राखिएको छ।

    सुशासन र पारदर्शीतालाई उच्च प्राथमिकतामा राखेको यस पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने कडा नीति अघि सारेको छ। आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने पार्टीको प्रतिबद्धता छ। संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रवाह गर्दै कमिसनतन्त्र, ढिलासुस्ती र अपारदर्शिता जस्ता क्यान्सरका रूपमा फैलिएका बेथितिहरूको अन्त्य गर्ने दाबी नेताद्वयले गरेका छन्।

    देशको आर्थिक-सामाजिक रूपान्तरण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना पनि अपिलमा समेटिएको छ। आयातमा आधारित राजस्व र बढ्दो व्यापार घाटालाई निरुत्साहित गर्दै कृषि, उद्योग, जलस्रोत र पर्यटनको विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने पार्टीको लक्ष्य छ। दलाल पुँजीवाद, कालोबजारी, र मिटरब्याजी जस्ता आर्थिक अपराधलाई नियन्त्रण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खाना र छानामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने वैज्ञानिक समाजवादुको आधार खडा गर्ने वाचा गरिएको छ।

    साथै, समाजमा विद्यमान छुवाछुत, छाउपडी, बोक्सी प्रथा लगायतका सबै प्रकारका वर्गीय, जातीय र लैंगिक विभेदको अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ।

    राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि दृढतापूर्वक उभिने स्पष्ट पार्दै पार्टीले पञ्चशीलका सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ। कुनै पनि विदेशी शक्तिको हस्तक्षेप अस्वीकार गर्दै छिमेकी लगायत सबै मुलुकसँग समानताका आधारमा सम्बन्ध राख्ने, असमान सन्धि सम्झौताहरू खारेज गर्ने र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल गर्ने विषयलाई अपिलमा प्राथमिकताका साथ उठाइएको छ। 

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १६:०८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij