२०८२ फाल्गुण १४ गते बिहिवार
१. राष्ट्रिय सभालाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ’ः उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाललाई चुनौतीपूर्ण तर उपलब्धिमूलक रहेको बताउनुभएको छ । फागुन २० गतेदेखि बिदा हुन लाग्नुभएकी घिमिरेले संसदको गरिमा बचाउन र संघीयता कार्यान्वयनमा राष्ट्रिय सभाले खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको ६ वर्षे कार्यकाल यही फागुन २० गते सकिँदैछ । आफ्नो कार्यकाल पूरा गरी बिदा हुने क्रममा उनले संसद्मा बिताएका अनुभव, राष्ट्रिय सभाको गरिमा, कानून निर्माणका चुनौती र महिला नेतृत्वका विषयमा आफ्ना धारणा राख्नुभयो । संसदको पहिलो अनुभवः ‘भाषण र संसदीय सम्बोधनको भिन्नता’
राजनीतिक पृष्ठभूमिबाट आउनुभएकी घिमिरेले बाहिर घण्टौं भाषण गर्ने अभ्यास भएपनि संसदमा निश्चित समयमा रहेर धारणा राख्नुपर्ने बताउनु भयो । त्यसले समयको महत्व सिकाउने उहाँको भनाइ छ ।
२. नौविसे नाकढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न
धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गनुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम शुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।
३. लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ । नेपाल कानून समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा निर्वाचन सुरक्षाको प्रमुख चुनौतिका रुपमा सामाजिक स्ञ्जालको दुरुपयोग, लुटिएका हतियार र फरार कैदीबन्दी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । निर्वाचनका लागि सरकारले अवलम्वन गरेको एकीकृत सुरक्षा योजनाका बाबजुद सामाजिक सञ्जालमा फैलिने द्वेष र भ्रमपूर्ण सामग्रीहरु मुख्य सुरक्षा चुनौति हुन् । त्यसैगरी परम्परागत राजनीतिक शक्ति र नयाँ धारबीच पनि द्वन्द्व चर्किनसक्ने सम्भावना प्रतिवेदनमा उल्लेख छ । विविध चुनौतीका बाबजुद सुरक्षा निकायको चुस्त तयारीले मतदातामा भने उच्च भरोसा जगाएको देखाएको छ ।
४. कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा पूर्वप्रशासक तथा कानूनविद्हरूले जोड दिएका छन् ।
कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा बोल्दै उनीहरूले कानूनी जटिलता र सामाजिक विभेद नै निवारणको मुख्य वाधक रहेको औँल्याएका हुन् । कुष्ठरोगलाई केवल स्वास्थ्य समस्याका रूपमा मात्र नहेरी यसलाई मानव अधिकार, सामाजिक न्याय र राष्ट्रिय विकासको गम्भीर मुद्दाका रूपमा सम्बोधन गर्नुपर्नेमा उनीहरुको जोड छ । कुष्ठरोग प्रभावितहरूलाई समाजको मूल प्रवाहबाट अलग राख्ने विद्यमान विभेदकारी कानूनी प्रावधानहरू तत्काल खारेज गर्नुपर्ने बताए । उनीहरुले राज्यको लगानी, नीतिगत स्पष्टता र तीनै तहका सरकारबीचको समन्वय अभावले गर्दा निवारणको लक्ष्य अझै चुनौतिपूर्ण रहेको बताए ।
५. कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताउनुभएको छ । कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा प्रष्टयाउनुभएको हो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानून कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराउनु भयो । उहाँले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याउनु भयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
६. आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवद्र्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उहाँले बताउनु भयो । हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ । उहाँकाअनुसार वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो ।
७. निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ । निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तिब्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप हुनसक्ने र निर्वाचन विथोल्न लागेको केही समूहबाट सडक अवरुद्ध गर्नसक्ने आकलन गरिएको बताउनु भयो । उहाँले निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जानकारी दिनुभयो । यसका लागि मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको बताउनु भयो । उहाँले निर्वाचन आयोगलाई पनि स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
८. बैंक खातामार्फत निर्वाचन खर्च नगर्नेलाई कारबाही हुन्छः निर्वाचन आयोग
९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेद्वारहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगले बैंक खातामार्फत मात्र खर्च गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो । आयोगले तोकेको व्यवस्था उल्लंघन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुने उहाँको भनाई छ । उहाँकाअनुसार हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन् । खाता सञ्चालन गर्ने राजनीतिक दलहरुमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।
९.ट्रम्पले भनेः इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान काइनले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व गर्ने बताउनुभएको छ । यदि उनलाई त्यसको आदेश दिइयो भने उनले नै तेतृत्व सम्हाल्ने बताउनु भयो । ट्रम्पले इरानसँग सम्झौता गर्नु नै राम्रो हुने उहाँको भनाइ छ । यसअघि सोमवार वाशिंगटन पोस्टले रिपोर्ट गरेको थियो कि गत हप्ता ह्वाइट हाउस बैठकमा जनरल काइनले इरानमाथि हमला गर्दा महत्वपूर्ण हतियार तथा गोला बारुदको कमी र सहयोगी देशहरूबाट समर्थन नहुन सक्ने कुराले अमेरिकी सेनालाई ठूलो जोखिममा पार्नसक्ने चेतावनी दिनुभएको थियो । स्रोतहरूकाअनुसार उहाँले लामो समयसम्म चल्ने द्वन्द्व र क्षेत्रीय प्रभावहरूको जोखिम पनि औंल्याएका थियो । जनरल काइनको कार्यालयले शुक्रवार जारी गरेको वक्तव्यमा भनेको छ कि राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको रूपमा अध्यक्षले नागरिक नेतृत्वलाई विभिन्न सैन्य विकल्पहरू, तिनका प्रभावहरू, जोखिमहरू र अन्य विचारहरू उपलब्ध गराउँछन् ।
१०. दक्षिण अफ्रिकाका केसी जार्भिसलाई डीपी वल्र्ड टुर उपाधि
दक्षिण अफ्रिकाका २२ वर्षीय गोल्फर केसी जार्भिसले केन्याको राजधानी नैरोबीमा आयोजित २०२६ म्याजिकल केन्या ओपनमा वायर–टु–वायर जित हासिल गर्दै आफ्नो पहिलो डीपी वल्र्ड टुर उपाधि जितेका छन् । पहिलो तीन राउण्डपछि साझा नेतृत्वमा रहेका जार्भिसले अन्तिम राउण्डमा मौसमका कारण दुई पटक खेल रोकिएको अवस्थामा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले अन्तिम राउण्डमा ६२ स्कोर गर्दै छ बर्डी र दुई ईगल प्रहार गरे । जसमा अन्तिम होलमा ईगल गरेर तीन स्ट्रोकको जित सुनिश्चित गरे। कुल स्कोर २५ अण्डर पार (२५५) रहेको थियो । अमेरिकाका डेभिस ब्रायन्टले २२ अण्डर पारसहित दोस्रो स्थान हासिल गरे । जार्भिसकै देशका हेनि डु प्लेसिस २१ अन्डर पारमा तेस्रो भए । गत वर्षका विजेता दक्षिण अफ्रिकाकै ज्याक क्रुयस्विज्कले अन्तिम राउण्डमा ६५ स्कोर गर्दै टप २० मा स्थान बनाए । केन्याली गोल्फर न्जोरोगे किबुगु कट बनाउने एकमात्र केन्याली खेलाडी थिए । उनले कुल ६ अन्डर पारसहित ६१औं स्थानमा प्रतिष्पर्धा समाप्त गरे । यो जित जार्भिसको ८४औं डीपी वल्र्ड टुर सुरुवात र केन्या ओपनमा उनको चौथो सहभागितामा आएको हो । उनले करेन कन्ट्री क्लवमा कीर्तिमानी प्रदर्शन गर्दै उपाधि हासिल गरेका हुन् ।
११. दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलले आफूमाथि लगाइएको जीवन कारावासको सजायविरुद्ध अपील दर्ता गर्नुभएको छ । यो अपील विद्रोहको मुद्दासँग सम्बन्धित छ । जुन उहाँले २०२४ डिसेम्बर ३ मा घोषणा गरेको आपतकालीन मार्शल लसँग जोडिएको छ । योन्हाप समाचार एजेन्सीकाअनुसार युनको कानूनी टोलीले मंगलवार (फेब्रुअरी २४, २०२६) सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा अपीलको सूचना दर्ता गरेको हो । उक्त अदालतले गत हप्ता (फेब्रुअरी १९, २०२६) युनलाई विद्रोहको मुख्य नाइके भएको आरोपमा दोषी ठहर गर्दै जीवन कारावासको सजाय सुनाएको थियो । कानूनअनुसार विद्रोहको मुख्य नाइकेलाई दोषी ठहर भएमा मृत्युदण्ड वा जीवन कारावास मात्र सजाय हुनसक्छ । युनमाथि असंवैधानिक रूपमा आपतकालीन मार्शल ल घोषणा गरेको, राष्ट्रिय सभाको मार्शल ल हटाउने प्रश्ताव रोक्न सेना र प्रहरी परिचालन गरेको, तथा प्रमुख राजनीतिक व्यक्तित्वहरू (जस्तै मुख्य दलका नेता र संसद् सभामुख) लाई हिरासतमा राख्ने प्रयास गरेको आरोप थियो ।
१२. दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनाः झारखण्डमा ७ जनाको मृत्यु
झारखण्ड राज्यको चतरा जिल्लामा सोमवार राति दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा चढेका सबै ७ जनाको मृत्यु भएको छ । मृतकहरूमा दुईजना क्रू सदस्य, एक बिरामी र उनका आफन्तहरू समावेश थिए । दुर्घटना राँचीबाट दिल्लीका लागि उडेको बीचक्राफ्ट सी–९० विमानले चतरा जिल्लाको सिमरिया नजिकैको जंगल क्षेत्रमा भएको हो । यो विमान राँचीको बिरसा मुंडा विमानस्थलबाट उडेको थियो । खराब मौसमका कारण उडान मार्ग परिवर्तनको अनुरोध गरेको थियो । तर केही मिनेटमै विमानको सम्पर्क विच्छेद भएको र रडारबाट हराएको थियो । विमान रेडबर्ड एयरवेज प्राइभेट लिमिटेडले सञ्चालन गरेको थियो। यो एयर एम्बुलेन्स एक बर्न पीडित बिरामी (सञ्जय कुमार) लाई दिल्लीमा उपचारका लागि लैजान व्यवस्था गरिएको थियो। बिरामीका परिवारले उपचार र विमानका लागि लाखौं रुपैयाँ ऋण लिएका थिए । तर यो यात्रा जीवन बचाउनुको सट्टा ७ जनाको ज्यान जाने दुखद् घटनामा परिणत भयो ।
१३. नेपालदेखि दक्षिण–पूर्वी एशियासम्म फैलिएको अनलाइन स्क्यामिङको जालोः सयौँ उद्धारको पखाईमा, सरकारसँगै छैन आधिकारिक तथ्यांक
सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) कार्यमा फसाउने कार्य भयवह रुपमा बढ्दै गएको छ । रोल....
मुलुकमा रहेको बढ्दो बेरोजगारीको फाइदा उठाउँदै नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले दक्षिण–पूर्वी एसियाका थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर ठगी धन्दामा लगाउने गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधवार मन्त्रालयमा आयोजित प्रेस बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले नेपाली नागरिकहरु दक्षिण–पूर्व एशियाका लाओस, म्यानमार, थाइल्याण्ड तथा कम्बोडियाका विभिन्न क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा पुग्ने वन्धक तथा शोषणमा पर्ने गरेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार कम्प्युटरसम्बन्धी ज्ञान भएका संयुक्त अरब इमिरेट्स तथा मलेसियामा लामो समयदेखि कार्यरत नेपालीहरु यस्ता गिरोहको निशानामा पर्ने गरेका छन् ।
१४. रास्वपा सभापति लामिछानेको घोषणा– देश–मधेस विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गर्नुभएको छ । बुधवार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उहाँले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेण्डा भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘देश र मधेसकलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्यौं । हामीले विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रुपमा सुशासनको कुरा गर्यौँ त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यसपटक हामीले विभेदको अन्त्य सँगै सुशासनको स्थापना गर्न प्रतिवद्धताका साथ आएका छौँ ।’
१५. निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताउनुभएको छ । बुधवार आफ्नै कार्यकक्ष सिंहदरवारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाहरुको उम्मेदवारीमा कमी हुन गएको प्रष्ट्याउनुभएको हो । उहाँले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क पनि गर्नुभयो । उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लडनका लागि पार्टीले आफूलाई भनेको भएपनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदहरुलाई कमजोर ठान्ने सोच नै गलत भएको बताउनु भयो । देशभरका मतदाताहरुले समानुपातिक सांसदहरुलाई निर्वाचित गराउने भएकाले उनीहरुलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाई थियो ।
१६. निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बुधवार यही फागुन १२ गते मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओेमप्रकश अर्यालले सो जानकारी दिनुभएको हो । उहाँले सो क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ । त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धि सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन सम्बन्धि जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । १६ औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ । सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ ।
१७. ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ जेठ १० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
१८. विद्युत नियमन आयोगले संस्थाहरुका लागि नयाँ मापदण्ड ल्याउने
विद्युत नियमन आयोगले ‘अनुमति प्राप्त संस्थाको संस्थागत सुशासन सम्बन्धी मापदण्ड, २०८२ ल्याउने भएको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी उक्त मापदण्ड तयार गरेको हो । सार्वजनिक गरिएको मस्यौदामा अनुमति प्राप्त संस्थाले खरिद प्रक्रियालाई पारदर्शी र प्रतिष्पर्धी बनाउन सार्वजनिक खरिद सम्बन्धी आधारभुत सिद्धान्त र व्यवस्थालाइ अनुशरण गरी विनियमावली तयार गरी लागू गर्नुपर्ने व्यवस्था गरिएको छ भने अनुमति प्राप्त संस्थाले निर्माण वा सञ्चालन गरेको पा गर्ने आयोजनासँग प्रत्यक्ष वा परोक्ष सरोकार भएको कम्पनी,फर्म वा ज्वाइन्ट भेन्चर कम्पनी वा संस्थालाई निर्माण परामर्श वा समान आपूर्ति लगायतको कार्यमा सहभागि हुन नपाउने व्यवस्था गर्नुपर्ने व्यवस्था गर्न खोजिएको छ । प्रवद्र्धक र निर्माण कम्पनी एकै जना भएको कम्पनीले निर्माण गर्न नपाउने उल्लेख छ । न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij