२०८२ फाल्गुण ११ गते सोमवार
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले शासनको वैधताको एक मात्र स्रोत जनताको मताधिकार भएको भन्दै निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन् । पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने सम्पूर्ण दायित्व सरकारको भएको स्मरण गराएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यदेखि लिएर काँग्रेसमा भइरहेको अन्य दलका नेताहरूको प्रवेशसम्मका विषयमा उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।
स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको कुरामा जोड दिँदै प्रवक्ता चालिसेले सरकारलाई आफ्नो कर्तव्यप्रति सचेत गराएका छन्।
मतदातामाझ निर्वाचन हुने वा नहुने भन्ने आशङ्का रहेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता चालिसेले निर्वाचन हुन नदिने सुसुप्त शक्तिहरू सक्रिय हुनसक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । यद्यपि सरकारको दृढता र राजनीतिक दलहरूको सक्रिय सहभागिताले ती सबै आशङ्का र सम्भावनाहरूको अन्त्य गर्ने उनले स्पष्ट पारेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij