२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडाैं । भारतको नयाँ दिल्ली नजिकैको नोएडामा भ्यालेन्टाइन डेका दिन एक प्रेमिल जोडी मृत अवस्थामा फेला परेका छन्। घटनालाई लिएर हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।
दिल्लीको त्रिलोकपुरी निवासी ३२ वर्षीय सुमित र नोएडाको सेक्टर १०१ निवासी २६ वर्षीया रेखाको शव शनिबार सेक्टर १०७ नजिकै पार्क गरिएको लक गरिएको कारभित्र गोली लागेको अवस्थामा फेला परेको थियो।
प्रहरीले सुमितको हातबाट पेस्तोल बरामद गरेको जनाएको छ। कार भित्रबाट लक गरिएको अवस्थामा भेटिएकाले प्रारम्भिक अनुसन्धानले सम्भावित आत्महत्या तर्फ संकेत गरेको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा सुमितले मृत्यु हुनुअघि केही घण्टा अगाडि टाइप गरेको भनिएको एक व्हाट्सएप म्यासेजलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। अनुसन्धानकर्ताहरूले शुक्रबार दिउँसो ३:३९ बजे तयार गरिएको उक्त म्यासेजको जाँच गरिरहेका छन्।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया का अनुसार सन्देशमा उनीहरू १५ वर्षदेखि सम्बन्धमा रहेको र विवाह गर्ने योजना बनाएको उल्लेख गरिएको छ। साथै, रेखाले हालै अर्कै व्यक्तिसँग विवाह गर्ने निर्णय गरेको र त्यसकै कारण आफूले चरम कदम चाल्नुपरेको सुमितले लेखेको बताइएको छ। उक्त सन्देश कसैलाई पठाइएको थियो वा ड्राफ्टकै रूपमा सुरक्षित गरिएको थियो भन्ने विषय अझै खुल्न सकेको छैन।
सुमितका आफन्तहरूले आत्महत्याको दाबीमाथि प्रश्न उठाउँदै दुवै जना जातीय विभेद र धम्कीका सिकार भएको आरोप लगाएका छन्। एक जना आफन्तलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया ले लेखेको छ, “हामीलाई दुवैको हत्या भएको र उनीहरू जातीयताको सिकार बनेको विश्वास छ।” परिवारका अनुसार सुमित र रेखा एक दशकभन्दा बढी समयदेखि सम्बन्धमा थिए, दुवै परिवारलाई सम्बन्धबारे जानकारी थियो र रेखा सुमितको पारिवारिक कार्यक्रममा सहभागी हुने गर्थिन्। उनीहरूले अन्तर्राष्ट्रिय नम्बरहरूबाट समेत धम्कीपूर्ण फोन आएको दाबी गरेका छन्।
यता रेखाको परिवारले भने फरक आरोप लगाएको छ। उनीहरूका अनुसार सुमितले विगतमा रेखालाई दुर्व्यवहार गरेका थिए र त्यसबारे उजुरी दर्ता गरिएको थियो। पछि सुमितले माफी मागेपछि विषय मिलाइएको बताइएको छ। रेखाका दाजुका अनुसार पछिल्ला महिनाहरूमा सम्बन्धमा तनाव बढेको थियो र फरक जातका कारण परिवारले रेखाको विवाह अन्यत्र तय गरिरहेको थियो।
रेखाको परिवारले घटनालाई शंकास्पद भन्दै हत्या भएको आशंका व्यक्त गरेको छ। कार उनीहरूको सालारपुर गाउँबाट केही सय मिटर दूरीमा मात्र फेला परेको थियो।
प्रहरीका अनुसार सुमितको हातमा पेस्तोल भेटिनु र कार भित्रबाट लक गरिएको अवस्था हुनु सम्भावित आत्महत्याको संकेत हुन सक्छ। वरिष्ठ प्रहरी अधिकारी तथा फरेन्सिक टोलीले घटनास्थलको निरीक्षण गरिसकेका छन् भने पोस्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ।
प्रहरीले दुवै परिवारले उठाएका आरोपलाई समेत आधार मानेर सबै कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij