२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । रामेछापको मन्थली नगरपालिकास्थित मसानटारमा मङ्गलवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सो घटनामा मृतकका आफन्तले जिल्ला सदरमुकाम मन्थलीमा बुधवार दिनभर प्रदर्शन गरेका छन् ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो । स्थानीय प्रशासन र पीडितहरूको बिचमा गए राति ८ बुँदे सहमति भएको छ । सहमति पछि मृतकका आफन्तहरू पोस्टमार्टम गरेर शव बुझ्न तयार भएका छन् । शव बुझ्न १० जना पीडित परिवारले जाहेरी दिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताएका छन् ।
त्यस्तै मृतकका परिवारलाई कानुन बमोजिम पाउने क्षतिपूर्ति तत्काल व्यवस्था गर्ने र थप क्षतिपूर्तिको लागि अरनिको यातायात प्रालिसँग वार्ता गर्ने सहमति भएको छ । सवारी चालकलाई कडा कारबाही गर्ने र दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी जारी राख्ने र उनीहरूका परिवारलाई पनि मृतकको परिवार सरह क्षतिपूर्ति दिने सहमति भएको छ ।
दुर्घटनामा परेर ३ जना बेपत्ता रहेका छन् । आफन्तहरुका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ बेपत्ता छन् ।
बेपत्ताको खोजीमा सैनिक टोली र सशस्त्रको गोताखोर टिम परिचालन गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij