२०८२ माघ २६ गते सोमवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई स्पष्टीकरण सोधेको छ । शर्माले पार्टीको नीति, विचार, सिद्धान्त र दर्शन विपरीतका कार्यमा सक्रिय भएर काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘केही समय यता तपाईंले आफू आबद्ध दल नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार, सिद्धान्त र दर्शन विपरीतका कार्यमा सक्रिय भई पार्टीको हित विपरीत हुने कार्य गरेको र अन्य पार्टीमा आबद्ध भई निरन्तर पार्टी हित विपरीत कार्य गरेको विभिन्न सामाजिक सञ्जालबाट पुष्टि भएको छ । यस राजनीतिक दल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य र यस दलबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभाको सदस्यले पुरा गर्नुपर्ने जिम्मेवारी समेत पूरा गरेको नदेखिएकोले तपाईंलाई यस दल नेपाली कम्युनिस्ट पार्टीको विधानको धारा १०५ (क) (ख) (घ) (ङ) ले तोकेको अनुशासन पालन नगरी जानी जानी उल्लङ्घन गर्नुभएको’।
स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
पत्रमा भनिएको छ, ‘संसदीय दलको विधानको धारा ११ (४) (५) बमोजिम संसदीय दलको सदस्यबाट किन नहटाउने ? यो स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहोला ।
स्पष्टीकरण पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका शर्माले केही दिनअघि संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij