Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध

टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध


  • 491
    Shares

    टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औँ वार्षिकोत्सव मनाइरहँदा कर्मचारीहरुले मौन विरोध प्रदर्शन गरेका छन् । बिहीवार टेलिकममा आबद्ध तीनवटा कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन–नेपाल टेलिकमले संयुक्त रुपमा ‘हामी अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको व्यानरसहित विरोध जनाएका हुन् । उनीहरुले आवधिक बढुवा गरियोस्, कर्मचारी विनियमावलीको संसोधन गरियोस्, सेवा सुविधा हाम्रो अधिकार हो लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

    विनियमावली संशोधन नभएका कारण कर्मचारीहरू १३–१४ वर्षदेखि एउटै पदमा बसिरहनुपरेको कर्मचारीहरूको गुनासो छ । कर्मचारी विनियमावली २००८ पछि वृत्तिविकास अवरुद्ध भएको भन्दै अधिकृत तहमा बढुवा रोकिँदा संरचनागत असन्तुलन सिर्जना भएको युनियनहरूको दाबी छ । 

    साधारणसभाबाट स्वीकृत बोनस तथा नेपाल सरकारको निर्णयअनुसारको महँगी भत्ता वितरण रोकिएकोप्रति पनि युनियनहरूले आपत्ति जनाएका छन् । सुविधाको अवरोधले कर्मचारी मनोबल घटेको र उत्पादनशीलता प्रभावित भएको उनीहरूको भनाइ छ ।

    उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संस्थाको बिलिङ प्रणाली, परियोजना ढिलाइ, कर्मचारी वृत्तिविकास र सेवाग्राही अधिकारलगायत विषय तत्काल सुधार गर्न माग गरेका छन् । 

    हाल प्रयोगमा रहेको बिलिङ प्रणाली पुरानो भएको, नयाँ बिलिङ प्रणाली कार्यान्वयन पटक–पटक ढिलाइ हुँदा आर्थिक कारोबार तथा सेवाग्राहीका संवेदनशील विवरण जोखिममा परेको र केही इन्टरनेट सेवा प्रदायकले आवश्यक अनुमति बिना सेवा विस्तार गरिरहेकोले यसमा कडा नियमन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । 

    सेवाग्राहीले सहज, सस्तो र गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्न २४ घण्टा सेवा सुधारमा जोड दिनुपर्ने माग पनि गरिएको छ । 

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १३:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij