२०८२ माघ २२ गते बिहिवार
काठमाडौं । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलकाअनुसार इजरायली सेनाले बुधवार बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा भीषण आक्रमण शुरु गरेको थियो ।
खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा दुई महिला र एक प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी गाजा शहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको ज्यान गएको छ । सो आक्रमणमा कैयौँ मानिस घाइते भएका छन् ।
जसमध्ये केहीलाई उपचारका लागि अल–शिफा मेडिकल कम्प्लेक्समा लगिएको छ । यसअघि खान युनिसको दक्षिणमा पर्ने किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको थियो ।
स्थानीय प्रत्यक्षदर्शी मोहम्मद हमादाले इजरायली सेनाको आकस्मिक आक्रमणको निन्दा गर्दै सात दिनको नवजात शिशुले समेत ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् । हमासले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको घोर उल्लंघनको रूपमा व्याख्या गरेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा परी ५५६ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने १ हजार ५ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij