२०८२ माघ २१ गते बुधवार
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा साझा उम्मेदवार अम्बिर बाबु गुरुङलाई विजयी गराउने उद्देश्यले ओखलढुंगामा १००१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) ले उक्त समिति गठन गरेका हुन् ।
गुरुङको चुनावी अभियानलाई थप प्रभावकारी, संगठित र परिणाममुखी बनाउने लक्ष्यसहित समिति गठन गरिएको कोशी प्रदेश सांसद तथा समितिका संयोजक बाबुराम गौतमले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै पालिका, वडा तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । संयोजक गौतमले जिल्लाभर घरदैलो कार्यक्रम, कोणसभा, आमसभा, टोलस्तरीय बैठक तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाइने बताए ।
सबै तहका कार्यकर्ता र सर्वसाधारणलाई समेटेर साझा उम्मेदवारलाई विजयी गराउने रणनीति बनाइएको गैतमको भनाइ छ । कोशी प्रदेशका पूर्वमन्त्री गुरुङले जिल्लाको विकासका लागि पुर्याएको योगदानको स्मरण गर्दै आगामी निर्वाचनमा जनताले विजयी गराउने विश्वास गरिएकको छ ।
पार्टीबाट टिकट नपाएपछि नेकपा एमालेबाट विद्रोह गर्दै अम्बिर बाबु गुरुङ नेकपाबाट उम्मेदवार बनेका हुन् । नेकपा र जसपाबीचको सहमति अनुसार उनलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको हो । नेताहरूले जिल्लामा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि गुरुङको जित अपरिहार्य रहेको भन्दै एकताबद्ध भएर चुनावी अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij