२०८२ माघ १९ गते सोमवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यापन क्युएए प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले १२० प्रकारका विभिन्न मापदण्ड परीक्षण गरी शैक्षिक गुणस्तरको अन्तरराष्ट्रिय मापक मानिने ‘क्युएए’ विभागलाई प्रदान गरिएको हो ।
विभागद्वारा आज आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो । शिक्षा विभागका प्राध्यापक केशव पौडेलका अनुसार गुणस्तरीय शैक्षिक उपलब्धि एवं गुणस्तरीय भौतिक पूर्वाधारको पर्याप्त भएको अवस्थामा मात्र दिइन्छ । यसका लागि उत्तीर्ण दर उच्च हुनुपर्ने, अनुसन्धानात्मक अध्ययनका लागि विशेष व्यवस्था भएको हुनुनपर्नेलगायतका पूर्वसर्त रहेका छन् ।
क्युएए प्राप्त भएपछि राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय शैक्षिक संस्थाको हैसियत प्राप्त हुने छ’, उनको भनाइ थियो । तीन चरणको क्युएएमध्ये विभागले अहिले पहिलो चरणको क्युएए पाएको हो ।
अहिलेभन्दा थप गुणस्तर सुधारेमा दोस्रो चरणको क्युएए प्राप्त हुन्छ भने तेस्रो चरणको क्युएए प्राप्त गरेपछि विभागले मानक विश्वविद्यालयको मान्यता पाउँछ । प्राप्त क्युएए मान्यतालाई जोगाउन र दोस्रो तहको क्युएए पाउन बेरुजु कम गर्न लगायतका आर्थिक सुव्यवस्था कायम गर्नुपर्ने प्राध्यापक पौडेलको भनाइ थियो ।
कार्यक्रममा बोल्दै सङ्कायका वेदराज आचार्यले विभागले धरै मेहेनतपछि क्युएए प्राप्त गरेका बताउँदै उनले अन्य क्याम्पसका लागि पनि यसले प्रेरणा प्रदान गर्ने बताए । अनुसन्धानमा पर्याप्त बजेट छुट्याउनुपर्ने उनको भनाइ थियो ।
सङ्कायका पूर्वडिन एवं प्राध्यापक चित्रबहादुर बुढाथोकीले थप राम्रो काम गर्न क्युएए मान्यताले प्रेरणा दिएको बताए । ‘धेरै क्युएए पाएका कलेजको अवस्था पाउनुभन्दा अघिको भन्दा नाजुक भएको देखिन्छ, यसतर्फ सगज हुनुपर्छ’, उनको भनाइ थियो ।
यसका लागि शिक्षक विद्यार्थीको नियमित उपस्थिति मात्र नभई समग्र शैक्षिक वातावरण सुधार्नुपर्ने उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij