२०८२ माघ ७ गते बुधवार
काठमाडौं । दुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार मुस्ताङको नेचुङबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट (भेप)सहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-५ का ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिएको हो ।
केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् ।
बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । लामालाई आवश्यक कारबाहीका निम्ति इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij