२०८२ पौष १३ गते आइतवार
काठमाडौँ । नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको एकताले खासै अर्थ नराख्ने बताएका छन् ।
नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा नेताहरुले उनीहरुको एकताको ठूलो असर नदेखिने दाबी गरेका हुन् । नेकपा एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख साहको राजनीतिक मिलन वा विमिलनको कुनै विशेष अर्थ नरहेको बताउनु भयो । उनीहरूको राजनीति नेपाली जनतामा आधारित नदेखिएको भन्दै राईले त्यसले वर्तमान नेपाली राजनीतिक परिवेशमा खासै महत्व नपाउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा रवि लामीछाने र बालेन शाहहरु मिल्नु र नमिल्नुको कुनै अर्थ म देख्दिन । किनभने उनीहरुको राजनीति नै नेपाली जनतामा आधारित राजनीति देखिएन । कसैको आशिर्वाद कसैको ईसारामा गरिएको राजनितिलाई नेपाली जनताले र नेपालको अहिलेको परिवेशले त्यस्तो महत्व दिन्छ भन्ने मलाई लाग्दैन र त्यस्तो ठूलो केही अर्थ राख्दैन ।’
नेता राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहेको भएपनि साहका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनु भयो । काठमाडौं महानगरपालिकाभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण कार्य संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उहाँको दाबी छ । प्रमुख साहको विकास निर्माणका कार्य अगाडी बढाउन नसकेको उहाँको आरोप छ । विकासका नाममा उहाँले के गर्नुभएको छ रु उहाँले प्रश्न उठाउनु भयो । मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई लखेट्ने बाहेक अरु काम नगरेको उहाँको दाबी छ । नेता राईले विभिन्न राजनीतिक कार्यक्रमहरुमा जरिवाना घोषणा गरेर मेयर शाहले ‘स्टन्टबाजी’ मात्रै गरेको आरोप लगाउनु भयो । जेन–जी आन्दोलनमा भएको आगजनी तथा हिंसात्मक घटनाका बेला काठमाडौं महानगरपालिकाले दमकल नपठाएको आरोप लगाउँदै उहाँले यस घटनाले पनि प्रमुख शाहको विकास र समृद्धिप्रतिको संवेदनशीलता नदिएको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘उहाँको हिजो निर्वाचित हुँदै गर्दा २०७९ को स्थानिय तहको निर्वाचनमा एउटा जनतामा आशा र अपेक्षा थियो । युवा हो, एउटा ठुलो आशा र अपेक्षा थियो । तर त्यसपछिको क्रमश उहाँको गतिविधिहरु चाहीँ काठमाडौ र नेपालभरको जनताले देखिराखेको छ । काठमाडौं महानगरपालिकाको बाटोघाटोको कुरा प्राय सबै संघिय सरकारले सडक विभाग, सडक डिभिजन अन्र्तगत सबै कामहरु बनिरहेको हुन्छ । अब उहाँले गरेको नै पनि के छ र आखिरी विकासमा । एउटा मकै पोलेर खाने, मकै पोलेर आफ्नो र परिवारको जीविकोपार्जन चलाउनेलाई लखेट्ने बाहेक उहाँले अरु के काम गर्नुभएको छ र रु व्यवस्थित रुपमा सडकमा लाईटहरुसम्म राख्न उहाँले सक्नुभएको छैन । त्यत्रो ठूलो उहाँले काम गरेका पनि होइन । पछिल्लो समयमा उहाँले नेकपा एमालेले कार्यक्रम गर्दाखेरी एक लाख जरिवाना उहाँले घोषणा गर्नुभयो, पछि राजावादी आन्दोलनमा पूर्वराजालाई सम्म उहाँले ६/७ लाख रुपैयाँ जरिवाना घोषणा गर्नुभयो । स्टन्टबाजी गर्नुभयो । अहिले यत्रो सिंहदरबार जल्दा, अदालतहरु जलाउँदाखेरी आफूसँग त्यत्रो धेरै भएको दमकलसम्म नदिने, नपठाउने भनेपछि उहाँ त यो देशको विकास होइन, जलोस्, सिद्धियोस्, खरानी होस्, नेपालको ऐतिहासिक सम्पदाहरु, स्थानहरु, अदालतहरु केही पनि नरहोस्, सकोस् । जलेको त हेरिरहेका छन् । ललितपुरको महानगरले दमकल पठाएर ३ दिन पछाडी बल्ल चाहीँ जलाईएको ठाउँहरुमा निभाउने काम ग¥यो । काठमाडौं महानगरले एउटा पनि दमकल पठाउने आट गरेन, यी घटना परिघटनाले देखाउँछ, उहाँ विकास र समृद्धि, नेपाली जनताको हितमा काम गर्नुहुन्न, हुनुहुन्न ।’
उहाँले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमतिलाई हाँस्यास्पद भएको बताउनु भयो । २०६४ सालमा नेकपा माओवादीले पनि पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेद्वार घोषणा गरेको स्मरण गर्नुभयो । उहाँले दाहाल राष्ट्रपति बन्नुभयो त रु प्रश्न गर्नुभयो । उहाँले बालेन्द्र साह सांसद नै बन्न नसक्ने हो की भन्ने आशंका पनि जनाउनु भयो । उहाँले रास्वपा सभापति लामिछाने पनि सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर निस्किएको पात्र भएको बताउनु भयो । उहाँले जनतको माझमा उहाँहरुले सफलता हासिल गर्न नसक्ने दाबी गर्नुभयो ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले भने राजनितिक पार्टीहरु मिल्नु राम्रो भएको बताउनु भयो । नेपालमा राजनीतिक पार्टीहरूको ध्रुविकरण आवश्यक रहेको उहाँको भनाई छ । हाल देशमा १५२ भन्दा बढी राजनीतिक पार्टी रहेको उल्लेख गर्नुहुँदै उहाँले देशमा पाँच वटा मात्रै पार्टी भए पुग्ने बताउनु भयो । उहाँले सीमित संख्याका राजनीतिक दलबीच प्रतिष्पर्धा भई बहुमतको सरकार बन्नसके मात्र राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने बताउनु भयो । एमाले कुनैपनि राजनीतिक गठबन्धनसँग प्रतिष्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै नेता पण्डितले कोही पार्टी मिल्दैमा कसैले टाउको दुखाउन आवश्यक नरहेको बताउनु भयो । कोही एक भयो भन्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गतल भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘अब नेपालमा राजनीतिक पार्टीहरु धुव्रिकृत हुनु राम्रै कुरा हो । अहिले १५२ पार्टीले देश बनाउँछु भनेर हिँडिरहेका छन् । चुनावमा कति पार्टी जान्छन्, टुंगो छैन । पार्टी खोल्ने, कहिलेकाही त श्रीमानले एउटा पार्टी खोल्ने, श्रीमतीले एउटा पार्टी खोल्ने । अनि १५ दिन एउटा पार्टीमा बस्ने १५ दिन अर्को पार्टीमा जाने जुन यो प्रवृति छ नि, अस्थिर प्रवृति । यो देशको निम्ति एक किसिमको घात नै हो । लोकतान्त्रिक विधि र प्रक्रियामा त छौँ तर लोकतान्त्रिक विधि र प्रक्रियामा पनि अनुशासन भन्ने चिज चाहिन्छ, नैतिकता भन्ने चिज पनि चाहिन्छ । समर्पण पनि हुनुपर्छ, नभए फाउको खेती भनेर राजनीतिलाई बुझ्ने जुन गरिन्छ नी, त्यो गलत हो । त्यसकारण म के भन्न चाहन्छु भने, अझै धेरै धुव्रिकृत होस् । अझै पाँच वटा औँलाभित्र मात्रै राजनिति पार्टीहरु प्रतिष्पर्धा गरेर रहुन् । बहुमतको सरकार बनाउन । राजनितिक स्थायित्व होस् । त्यसैले विकास र समृद्धि ल्याउने हो । एकताले देशलाई फाइदा हुन्छ भने कसैले टाउको दुखाउनु आवश्यक हुँदैन । एमालेको टाउको दुखाई छैन । एमाले जति अरु पार्टीहरु मिलेर आउँछन्, त्यो संग समाना गर्न तयार छ । किनभने राजनीतिक स्थायित्वको पक्षमा छ । संविधानको पक्षमा छ, लोकतन्त्रको पक्षमा छ । कोही एक भयो भन्दैमा अर्को समाप्त भयो भन्ने बुझाई चाँही खहरे बुझाई हो क्या ।’
राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आईतवार विहान ‘वृहत एकता’ सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । एकताअनुसार शाह निर्वाचनपछि संसदीय दलका नेता बन्नेछन् भने रास्वपा सभापति लामिछाने सभापतिकै रुपमा रहनेछन् । पार्टीको संरचनाको भने सबै रास्वपाको हुनेगरी ७ बुँदे सहमति भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij