२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले काँग्रेस महाधिवेशन केही समय पर धकेलिनसक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले काँग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताएका छन्। महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरुले धेरै चासो देखाउन जरुरी नरहेको उल्लेख गरेका छन्। आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशिल सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको बताएका छन् ।
कोईरालाले भने, नेपाली काँग्रेसको अधिवेशन केही लम्बिन सक्छ । अब यो पत्रकारहरुले के लेख्छन् भने शेखर कोईरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर । मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ । तर क्रियाशिल सदस्य नयाँ थपिए । नयाँ क्रियाशिल सदस्य बाँड्ने क्रममा देशभरी सिरियल नम्बर नभएको पठाउने त शेखर कोईराला होइन होला । अर्कैले पठाएको होला । मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij