२०८२ मंसिर २५ गते बिहिवार
१. हेटौँडा उपमहानगरपालिकाद्वारा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने
हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी गरेको छ । यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँतर्फ ५० मिटर र बायाँतर्फ २५ मिटरभित्र पर्ने संरचना हटाइने भएको छ । विशेष के छ भने यो मापदण्डभित्र २०३१ सालमा नै सडक मुआब्जा लिएर बनेका घरहरू पनि पर्नेछन् । अर्थात करिव ५१ वर्षअघि सडकको लागि मुआब्जा लिएका जग्गाधनीहरूले बनाएका घर तथा भवनहरू अहिले आएर सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्था आएको छ । यस योजनाले हेटौँडा बजार क्षेत्र, राप्ती रोड, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुद्धचोक–हुप्रचौर सडक, स्कुल रोड लगायतका मुख्य मार्गहरू प्रभावित हुनेछन् ।
२. सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो । बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
३. लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
अन्तरिम सरकाका युवा तथा खेलकुदमन्त्री व्यवहारमा लागू नगरेसम्म लैङ्गिक हिंसा हट्न नसक्ने बताउनुभएको छ । खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताउनु भयो । लैङ्गिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार र जीवनबाट शुरु गर्न जरुरी रहेको उहाँको भनाइ छ । बोलेर हिँड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
४. पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । केही समयअघि जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुग्नुभएको हो । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभयो । उहाँले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट हेर्नुभएको थियो । संसद सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गर्नुभएको छ ।
५. नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी अस्पतालमा भएका आधारभुत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । आधारभुत सेवाहरु स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भएपनि जानेर वा नजानेर ठूला अस्पतालमा आउने गरेको उहाँको भनाई छ । ठूला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभुत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भीड बढ्ने गरेको उहाँले बताउनु भयो । अस्पतालमा हुने भीडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उहाँको भनाई छ ।
६. जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय सरकारको निर्णय
सरकारले जेन–जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरकारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएको हो । गत असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो । उहाँकाअनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानून समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामति सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
७. कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति अझै धेरै छन्ः जलवायु वित्त विज्ञ क्षेत्री
ब्राजिलको बेलेममा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप ३०) मा नेपालले पर्वतीय एजेण्डालाई अन्तर्राष्ट्रिय दस्तावेजमा स्थापित गर्न सफल भएको निष्कर्ष निकालिएको छ ।
वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको समीक्षात्मक कार्यक्रममा बोल्दै कोप–३० मा सहभागीहरूले नेपालको सघन कुटनीतिक पहलले हिमाली एजेण्डालाई विश्वव्यापी फोरममा संस्थागत गर्न सकेको र यसको दूरगामी महत्व रहेको बताएका छन् । कोपका विभिन्न वार्तामा सहभागी जलवायु वित्त विज्ञ तथा अभियन्ता राजु पण्डित क्षेत्रीले नेपालले निरन्तर उठाउँदै आएको हिमालको मुद्दालाई कोप–३० ले महत्वपूर्ण स्थान दिएको बताउनु भयो । नेपालको नेतृत्वमा किर्गिस्तान, भूटान लगायतका अन्य देशहरूसँग मिलेर गरेको पहल सफल भएको उहाँको भनाइ छ ।
८. एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोइने, नेपालका १६ दललाई निम्तो
नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराउनुभएको हो । उहाँकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा शुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ ।
९.एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक जारी छ । बिहीवार बिहान पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बसेको हो । महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल शुरु भएको छ । जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको छ । आज १४ वटै समितिका संयोजकहरुले आफ्नो–आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरुलाई आफ्नो भुमिका थप प्रभावकारी बनाउन आवश्यक छलफल हुनेछ ।
१०. अमेरिकाले भेनेजुएलाको तटबाट तेल ट्याङ्कर कब्जा ग¥योः ट्रम्प
अमेरिकी सेनाले भेनेजुएलाको तटबाट तेल ट्याङ्करलाई रोकेर नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । भेनेजुएलाको तटमा एउटा ट्याङ्कर कब्जा गरेको उहाँको दाबी छ । ब्लूमबर्गको रिपोर्ट अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै, अमेरिकी सेनाले भेनेजुएलामा अन्तिम पटक डक गरिएको राज्यविहीन जहाजमा न्यायिक प्रवर्तन कारबाही गरेको बताइएको छ । अन्तर्राष्ट्रिय तेलको मूल्य जफतको समाचारमा बढेको छ । ब्रेन्ट क्रूड लण्डनको व्यापारमा ०.८ प्रतिशतले बढेको छ । ट्रम्पले अमेरिकी सेनाले क्यारिबियनमा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै चाँडै जमिनमा आक्रमण शुरु गर्ने बताउनुभएको छ । जसले संयुक्त राज्य अमेरिका र भेनेजुएला बीचको तनाव बढाएको छ ।
११. अमेरिकी फेडले ब्याजदर २५ आधार बिन्दुले घटायो
अमेरिकी फेडरल रिजर्भले संघीय कोष ब्याजदरको लक्ष्य दायरा २५ आधार बिन्दुले घटाएर ३.५ देखि ३.७५ प्रतिशतमा पु¥याउने निर्णय गरेको छ । जुन यस वर्ष तेस्रो दर कटौती हो । पछिल्लो कदम व्यापक रूपमा अपेक्षित थियो । जसले सेप्टेम्बरमा संघीय खुला बजार समितिको मौद्रिक नीति बैठक पछि यो लगातार तेस्रो दर कटौती हो । आर्थिक दृष्टिकोणको बारेमा अनिश्चितता बढेको छ । समितिले आफ्नो दोहोरो जनादेशको दुवै पक्षका जोखिमहरूमा ध्यान केन्द्रित गरेको छ । हालैका महिनाहरूमा रोजगारीमा नकारात्मक असर पर्ने जोखिम बढेको न्याय गर्दछ ।
१२. चीनद्वारा लिजियान–१ रकेट प्रक्षेपण
चीनले बुधवार लिजियान–१ रकेट प्रक्षेपण गरेको छ । जसलाई किनेटिका–१ वाई ११ पनि भनिन्छ । ९ उपग्रहहरू सहितको वाहक रकेट प्रक्षेपण गरेको छ । जसमा संयुक्त अरब इमिरेट्स (युएई) को एक उपग्रह पनि समावेश थियो । उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्र नजिकै डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पायलट क्षेत्रबाट दिउँसो १२ः०३ बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरियो। यसले उपग्रहहरूलाई उनीहरूको योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको छ । ८१३ नाम दिइएको युएईको नेतृत्वमा रहेको उपग्रह माटो, जलवायु र वातावरण अवलोकन गर्न डिजाइन गरिएको हो ।
१३. थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरु घर छोडेर भागे
थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरू घर छोडेर भागेका छन् । थाइल्याण्डसँगको सीमा द्वन्द्व तेस्रो दिनमा प्रवेश गरेको छ । लगभग ५४ हजार ५ सय ५० कम्बोडियाली बासिन्दाहरू सुरक्षित आश्रयको लागि आफ्नो घर छोडेर भागेका कम्बोडियाली सूचना मन्त्री नेथ फेकत्राले बताउनु भयो । स्थानीय समयअनुसार मंगलवार बिहान ११ बजेसम्म, कम्बोडियाली सेना र नागरिकहरूमाथि थाई सेनाको आक्रमणका कारण प्रेह विहार, ओड्डार मिन्चे, बान्टेय मिन्चे र पुरसात प्रान्तका बासिन्दाहरू आक्रमणबाट भागेर सुरक्षित क्षेत्रमा सरेका छन् ।
१४. म्यानमारद्वारा ८ महिनामा १७ लाख ८० हजार टन चामल निर्यात
८ महिनामा म्यानमारले १७ लाख ८० हजार टन चामल निर्यात गरेको छ । २०२५–२०२६ आर्थिक वर्षको ८ महिनामा म्यानमार चामल निर्यात १७ लाख ८० हजार टन पुगेको हो । म्यानमार चामल महासंघले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष २०२५–२०२६ को पहिलो आठ महिनामा म्यानमारले १७ लाख ८० हजार टनभन्दा बढी चामल र भाँचिएको चामल निर्यात गरेको छ । दक्षिणपूर्वी एसियाली देशले यस वर्ष अप्रिलदेखि नोभेम्बरसम्मको निर्यातबाट लगभग ५७ करोड ५० लाख अमेरिकी डलर कमाएको महासंघको तथ्याङ्कले देखाएको छ ।
१५. चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रश्ताव गर्नुभएको छ । विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा भएको चलचित्रसम्बन्धि विधेयकको दफाबार छलफलका क्रममा उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले बोर्डलाई स्वायत्त नै बनाउनुपर्ने र बोर्डमा आउने अध्यक्ष खुला प्रतिष्पर्धाबाटै ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री र प्रधानमन्त्रीका खल्तीका मान्छे भर्ती गर्ने गरिएकोले देश बिग्रिएको उहाँको भनाई छ ।
१६. वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरु नै रहेको दाबी गर्नुभएको छ । वागमती प्रदेश कमिटिको आयोजनामा बिहीवार भएको कार्यक्रममा उहाँले असली माओवादी आफूहरु भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताउनुभएको हो । उहाँले जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफुहरु भएको जिकिर गर्नुभयो । ११ वर्षको संर्घष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उहाँको भनाई छ ।
१७. सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियोः हमाल
जेन–जी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन् । असन्तुष्ट समूहले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाईज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन् । जेन–जी अगुवा रविकिरण हमालले बुधवार सिंहदरबारमा प्रधानमन्त्री सुशिला कार्की र ओमप्रकाश अर्यालको समहुले सम्झौताको नाटकमञ्चन मात्रै गरेको टीप्पणी गर्नुभयो । भदौ २३ र २४ गते नेपालको नवोदित पुस्ताको आवह्वान भएको विद्रोहलाई अपरहण गरेर, सत्ता ‘कु’ गरेर उनीहरुले नवपुस्तामाथी धोका दिएको उहाँको आरोप छ । उनीहरुले आफ्नो सत्ता जोगाउनको लागि युवामाथी घात हुने १० बुँदेको सम्झौताको नाटक गरेको र त्यसलाई परास्त गर्न आफूहरु लाग्ने बताउनु भयो ।
१८. स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताउनुभएको हो । देशको समग्र राजश्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उहाँको भनाई छ । स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने बताउनु भयो । यसलाई एकैपटकमा सुधार गर्न नसकिने उहाँको भनाई छ ।
१९. कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाउनुभएको छ । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गर्नुभयो । उहाँले जाँचबुझ आयोगको मनशाय के छ भन्नेकुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबट पुष्टी भइसकेको समेत बताउनु भयो ।
२०. जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताउनु भयो । उहाँले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गर्नुभयो ।
२१. महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दाबी गर्नुभएको छ । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उहाँले सो दाबी गर्नुभएको हो । संवादमा उहाँले ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भएपनि स्थिति त्यतातिर नगएको बताउनु भयो । उहाँले महाधिवेशनको प्रश्तावबारे शुक्रवार अन्तिम छलफल बसेर टुंगिने समेत जानकारी गराउनु भयो । अघि बढाउने प्रश्ताव सहमतिमै हुने उहाँको भनाइ छ ।
२२. हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण
हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारमा सर्वोच्च अदालतको आदेशविपरित स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुको सरोकारवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले सडक सीमा क्षेत्रमा निर्माण भएका घर संरचना नभत्काउन सर्वोच्च अदालतको आदेशलाई समेत अवज्ञा गर्दै सडक विस्तार कार्य अगाडि बढाएर मानव अधिकारको उल्लङ्घन गरेको भन्दै सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
२३. एक वर्षमा १ करोड २५ लाखले लिए स्वास्थ्य सेवा
अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रमा उहाँले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रमा बढेको बताउनु भयो । काफ्लेकाअनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बिमाले नै निर्णय भुमिका खेल्ने समेत बताउनु भयो । उहाँकाअनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरु भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ ।
२४. भिजिट भिसा प्रकरणः सहसचिव भट्टराई र अधिकृत अर्यालसहित ७ विरुद्ध विशेष अदालतमा मुद्दा दायर
भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीवार अख्तियार भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुई वटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७ चैत २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।
२५. जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रश्तुतीकरण पनि गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो । समितिकाअनुसार जेन–जी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कुल ७७ जनाको ज्यान गएको छ । –न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij