२०८२ कार्तिक १६ गते आइतवार
काठमाडौं । परपुरुषसँग होटलमा बसिबियालो गर्न पुगेकी एक विवाहित महिलालाई नसोचेको आपत् आइलागेको छ । होटलको कोठामै बेहोश भएका पुरुषको मृत्यु भएपछि उनका आफन्तले महिलामाथि किटानी जाहेरी दिएका छन् ।
बुटवल–३ फूलबारीकी ३० वर्षिया महिलामाथि किटानी जाहेरी परेको हो । उनी दुई बच्चासमेत च्यापेर शनिबार दिउँसो बुटबल ६ का चाँदवारीका ५६ वर्षिय पुरुषसँगै होटल गएकी थिइन् । बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा उनीहरु बसेका थिए ।
प्रहरीका अनुसार ती महिला र पुरुषबीच कुनै पनि पारिवारिक सम्वन्ध छैन । उनीहरुले होटलको दोस्रो र तेस्रो तलामा रहेका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी नाबालक छोरी र भतिजीलाई राखेर अर्को कोठामा आफूहरु बसे । उनीहरुले कोठाभित्रै खाजा मगाएर खाए ।
खाजा खाएको केही समयपछि अचानक पुरुष बेहोस भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै अस्पताल पुर्याइयो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरे । मृतकको परिवारले महिलाविरुद्ध किटानी जाहेरी दिएका छन। ।
‘होटलमा दुईवटा कोठा लिएर बसेका पाहुनामध्ये पुरुष बेहोस भएर ढलेपछि महिलाले होटल धनीलाई खबर गरेको र तत्कालै एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका रहेछन् । प्रहरीले घटनाको अनुसन्धान गर्दैछ, पोष्टमार्टम रिपोर्ट आएको छैन’ प्रहरी कार्यालयमा गएका होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले भने ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले उनीहरू दुई बच्चासहित होटल पुगेको र दोस्रो तथा तेस्रो तलामा दुईवटा कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । मृतकलाई तत्काल बाहिरी चोटपटक केही नदेखिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
अहिले प्रहरीले होटलधनी, व्यवसायी संघका प्रतिनिधिसहित छलफल गर्दैछ ।
मृतकका दुई छोरी र श्रीमती छन् । चाँदबारीमा घर भएका उनी मैनाबगरमा अटो व्यवसाय गर्थे । उनी मुटुका बिरामी थिए । थप कुनै औषधि खाएका कारण यस्तो भएको आशंका छिमेकीले गरेका छन् । मृतककी छोरीले इलाका प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij