२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । देशका सबै प्रदेशमा मंगलबार (असोज १४) साधारणतया बदलीको पूर्वानुमान छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । कतिपय स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस दिन राति कोसी, मधेस र वाग्मती प्रदेशमा साधारणतया बदली रहने सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो ।
“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij