Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.6K
    Shares

    आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. शक्तिपीठमा दर्शनार्थीको भीड

    दशैँ शुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको हो । काठमाडौं उपत्यकाको भद्रकाली, नरदेवी, शोभा भगवती, पशुपति, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवतीमा भक्तजनहरुको भीड रहेको छ । यस वर्ष असोज ६ गतेबाट घटस्थापनासँगै जमरा राखेर दशैँलाई स्वागत गरिएको छ । आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ ।

    २. मधेस प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

    नेपाली काँग्रेस मधेस सरकारबाट बाहिरिएको छ । जनकपुरमा आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएसँगै काँग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको काँग्रेस संसदीय दलले पुष्टि गरेको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो । 

    ३. बालेनलाई ओलीले भनेः पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनावद्ध काम हो

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरुसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताउनु भयो । अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्नुहुँदै देश नेपालीले नै बनाउनुपर्ने बताउनु भयो । 

    ४. नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहालः महाधिवेशनसम्म सबै हल हुन्छ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उहाँको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उहाँको दाबी छ ।

    ५. ‘सेनाको जवाफदेहीता र हिंसा र विध्वंशको गम्भीर छानबिनको आवश्यकता’

    वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अन्तरिम सरकारको मुख्य प्राथमिकतामा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रण र शान्ति पुनस्र्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आचार्यले प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख जिम्मेवारी निर्वाचनको तयारी, सुशासन प्रवद्र्धन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नु रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वलाई संवैधानिक र सर्वस्वीकार्य मान्दै उहाँले युवा पुस्ताको स्वतःस्फुर्त आन्दोलनले लोकतन्त्रलाई बलियो बनाएको दाबी गर्नुभयो । साथै सेनाको जवाफदेहीता र हिंसाको विश्लेषणमा गम्भीर छानबिनको आवश्यकता रहेको बताउनु भएको छ ।

    ६. (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु

    नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ । दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बैठक शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरुमा छलफल हुनेछ । जेन—जी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको केन्द्रिय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रश्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुनेछ ।

    ७. १० लाख रुपैयाँ माथिका आयोजना ठेक्कामार्फत गर्नुपर्ने

    सरकारले १० लाख रुपैयाँ भन्दा बढीका आयोजनाहरू उपभोक्ता समितिबाट गर्न नपाइने निर्णय गरेको छ । संघिय सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश वा स्थानीय तहबाट सञ्चालन हुने १० लाख रुपैयाँ माथिका सबै आयोजना ठेक्कामार्फत गर्नुपर्ने भएको हो । अर्थमन्त्रालयले आयोजनाको प्राथमिकीकरण र पुँजीगत खर्च व्यवस्थापन सम्बन्धमा जारी गरेको १५ बुँदे निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ ।

    ८. तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण

    नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटिको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भुमिका खेल्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले जीएन जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसंग वार्ता र संवाद गरेर सझदारी कायम गर्र्ने, समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरु, सामाजिक संघसंस्थाहरु सबैलाई समेटेर वृहत संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिनुभयो । 

    ९.राजधानी बाहिरिने सवारीको चाप बढ्यो

    नेपालीहरुको महान चाड विजया दशमी नजिकिँदै गर्दा राजधानी बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ । दशैँ मनाउन घर जानेहरुको संख्या बढेसंगै राजधानीबाहिरिने नाकाहरुबाट सवारी साधनको चाप पनि बढेको हो । थानकोट, जडिबुटी, बल्खु, ककनी लगायतका नाकामा सवारीको चाप दिनानुदिन बढ्दै गएको छ । असोज १ गतेदेखि नै दैनिक हजारौँ मानिसले राजधानी छाडेर दशैँ मनाउन गाउँघरमा जान थालेका छन् ।

    १०. सरकारको मितव्ययिता अभियानः सांसदका स्वकीय सचिव खारेजदेखि विदेश भ्रमणमा कडाईसम्म

    अन्तरिम सरकारले अनावश्यक खर्च नियन्त्रण गर्ने उद्देश्यले व्यापक मितव्ययिता नीति ल्याएको छ । खर्च कटौतीका १२ बुँदे योजना सार्वजनिक गर्दै अर्थमन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको छ । अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र संघ–प्रदेशका मन्त्रीबाहेक अन्य पदाधिकारीलाई स्वकीय सचिव नपाइने व्यवस्था गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक संघीय प्रदेश तथा स्थानीय तहका पदाधिकारीले सल्लाहकार नियुक्ति गर्न पनि पाउनेछैनन् ।

    ११. इण्डोनेसिया र युरोपेली संघबीच आर्थिक साझेदारी सम्झौतामा हस्ताक्षर

    इण्डोनेसिया र युरोपेली संघले मंगलवार बालीमा औपचारिक रूपमा आर्थिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । सन् २०१६ मा ब्रसेल्समा भएको पहिलो चरणको वार्तादेखि मंगलवार बालीमा भएको यो नौ वर्षको यात्राले सिइपिएमार्फत खुला, निष्पक्ष र दिगो अर्थतन्त्रप्रतिको हाम्रो संयुक्त प्रतिवद्धतालाई प्रतिबिम्बित गर्ने ऐतिहासिक कोशेढुङ्गामा पु¥याएको इण्डोनेसियाका आर्थिक मामिला समन्वयमन्त्री एयरलाङ्गा हार्टार्टोले युरोपेली व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोभिकसँगको संयुक्त विज्ञप्तिमा बताउनु भयो । 

    १२. दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः ५ जनाको मृत्यु, २ घाइते

    इजरायली ड्रोन आक्रमणले दक्षिणी लेबनानी शहर बिन्त जबेलमा मोटरसाइकल र गुडिरहेको कारलाई ठक्कर दिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । दुई जना घाइते भएको अधिकारीहरुले बताएका छन् । लेबनानी सेनाको गुप्तचरका अनुसार ड्रोनले दुई निर्देशित मिसाइल प्रहार गर्दा मोटरसाइकलमा सवार हिज्बुल्लाह सदस्य मोहम्मद म्रोएह र नजिकैको कारमा रहेका चार नागरिकको मृत्यु भएको छ ।

    १३. नीतिगत परिवर्तन बिना ईयुले गिरावटको सामना गर्नुपर्नेछः ओर्बान

    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले चेतावनी दिएका छन् कि युरोपेली संघ (इयु) ले तत्काल परिवर्तन नगरेसम्म गिरावटको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । साथै संसदको शरद ऋतु सत्रमा आफ्नो उद्घाटन भाषणमा युक्रेन, बसाइँसराइ र ऊर्जा सुरक्षामा हंगेरीको अडानलाई जोड दिनुभएको छ । यो हंगेरी संसदको हालको पार्टी संरचनाहरू सहितको अन्तिम शरद ऋतु सत्र हो । किनकि हंगेरीको आम चुनाव अर्को वसन्तमा सम्भवतः अप्रिल २०२६ मा हुनेछ । “यदि संघले हंगेरीले आफ्नो तर्फबाट युद्ध गर्ने जनादेश कसैलाई नदिएको स्पष्ट पार्नुभयो । कुटनीतिलाई रूस–युक्रेन द्वन्द्वको एक मात्र समाधानको रूपमा हेरेको बताउनु भयो । 

    १४. फ्रान्सद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले दुई–राज्य समाधान सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठकमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका अन्य धेरैजसो सदस्य राष्ट्रहरूसँग फ्रान्स पनि सामेल भएको छ । फ्रान्स र साउदी अरेबियाको सह–अध्यक्षतामा प्यालेस्टाइनको प्रश्नको शान्तिपूर्ण समाधान र दुई–राज्य समाधानको कार्यान्वयनको लागि उच्च–स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा म्याक्रोनले फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको घोषणा गर्नुभयो । 

    १५. युगाण्डाद्वारा संरक्षणमा जोड दिँदै गैंडाको नामकरण समारोह आयोजना

    युगाण्डाले एक विशेष समारोह आयोजना गरेर देशमा एक पटक लोप भइसकेको प्रजातिलाई पुनर्जीवित गर्ने प्रयासको एक भागको रूपमा नाकासोङ्गोलाको मध्य जिल्लाको जिवा गैंडा अभयारण्यमा १७ गैंडाका बाछाहरूको नामकरण गरेको छ । सार्वजनिक सेवा मन्त्री विल्सन मुरुली मुकासाले आफ्नो तर्फबाट दिनुभएको भाषणमा राष्ट्रपति योवेरी मुसेभेनीले १९८६ सम्ममा युगाण्डाको गैंडाको जनसंख्या द्वन्द्वका कारण नष्ट भएको कुरा सम्झनु भयो । एन्टेबेको युगाण्डा वन्यजन्तु संरक्षण शिक्षा केन्द्रमा ४८ गैंडा, ३० भाले र १८ पोथीको उपस्थिति रहेको बताउनु भयो ।

    १६. काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी 

    काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी आएको छ । बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ । जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरुमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ ।

    १७. जेन–जी आन्दोलनमा जलेको पार्टी कार्यालय पुनर्निर्माण गर्ने एमालेको निर्णय

    नेकपा (एमाले)ले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजननीमा परेको पार्टी केन्द्रीय कार्यालयको भवन यथाशक्य पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउने भएको छ । बुधवार दिउँसो काठमाडौंमा बसेको केन्द्रिय कार्यालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिप प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले प्राविधिकहरुको प्रतिवेदनअनुसार केन्द्रिय कार्यालयका ६ वटा हलहरु पुनःनिर्माण गर्न नसकिने गरी ध्वस्त भएको उल्लेख गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले शहीद तुल्सीलाल प्रतिष्ठानसँग छलफल गरेर भवन निर्माणको कार्यलाई शुरु गरिने समेत बताउनु भयो । 

    १८. तुरुन्त उपलब्ध गराउनुपर्ने सूचना समेत सात दिनसम्म रोक्ने परिपाटीको अन्त्य गर्न जरुरीः महान्यायाधिवक्ता

    महान्यायाधिवक्ता सविता भण्डारीले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्काल उपलब्ध गराउन सकिने सूचनाहरु समेत सात दिनसम्म ढिलाइ गरेर दिने परिपाटी गलत रहेको उहाँको भनाइ छ । उहाँले नागरिकमा र सूचना उपलब्ध गराउने निकायहरुलाई सूचनाको हकसम्बन्धी व्यवस्था स्पष्टसँग बुझाउन नसकिएकै कारण यस्तो समस्या आउने गरेको बताउनु भयो । 

    १९. मुग्लिङ–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध भएको छ । तुइनखोलामा बुधवार दिउँसो खसेको पहिरो निकै ठलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । उक्त पहिरोेको कारण सडक सञ्चालनमा आउन अझै दुई÷तीन लाग्नसक्ने बताइएको छ । सडक पूर्ण रुपमा नखुल्दासम्म वैकल्पिक मार्गको प्रयोग गर्न सडक विभागले आग्रह गरेको छ । 

    २०. सार्वजनिक सूचना दिगो विकाससँग जोड्न आवश्यकः प्रमुख आयुक्त आचार्य

    राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरुलाई दिगो विकाससँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचनाका विषयहरु परिवर्तन भएपनि पुरानै ढंगबाट सूचना माग गर्ने प्रवृत्ति हटिनसकेको बताउनु भयो । उहाँले सूचनाको माग गर्दा सार्वजनिक हितको विषय व्यक्तिगत सरोकारमा केन्द्रित हुँदा समस्या भइरहेको बताउनु भयो ।

    २१. राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेट लगत्तै बुधवार (अपरान्ह सो अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको उल्लेख गरिएको छ । 

    २२. सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल बनाइएको छैनः डोलप्रसाद अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पार्नुभएको छ । बुधवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो स्पष्टिकरण दिनुभएको हो । कार्यबहाक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रिय समिति बैठकले अनुमोदन गरेको उल्लेख गर्नुभयो । 

    २३. २ अर्ब ७१ करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ ।

    २४. चाडपर्व लक्षित अनुगमन तिब्र पार्दै खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग

    खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले चाडपर्व लक्षित अनुगमन तिब्र पार्दै गएको छ । नेपालीहरुको महानचाड दशैँ तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तुहरु बढेको गुनासाहरु बढेपछि अनुगमन शुरु गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले चाडपर्व लक्षित अनुगमनलाई बढाइएको बताउनु भयो । अहिले राजमार्गमा भएका होटेल, रेस्टुरेण्टहरु लगायत बजार अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गत रहेका सातवटा प्रदेशमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु र ती प्रदेशअन्तर्गत रहेका कार्यालयअन्तर्गत रहेका जिल्लास्थित डिभिजन कार्यालयहरुमार्फत भइरहेको छ । —न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - २०:२८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij