Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

यो वर्ष ‘हिले दसैँ’ हुन्छ कि हुँदैन, के भन्छन् मौसमविद् ?

यो वर्ष ‘हिले दसैँ’ हुन्छ कि हुँदैन, के भन्छन् मौसमविद् ?


  • 848
    Shares

    यो वर्ष ‘हिले दसैँ’ हुन्छ कि हुँदैन, के भन्छन् मौसमविद् ?
    images

    काठमाडौं । यो वर्षको दसैँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । मनसुनी प्रणाली अझैसम्म पनि सक्रिय रहेकाले दसैँमा पानी पर्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद्हरूको भनाइ छ । यद्यपि, मनसुन कमजोर हुने पूर्वानुमान छ ।  

    सामान्यतया नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । अक्टोबर २ मा यो वर्ष दसैँका टीका (विजया दशमी) छ । “औसत मितिअनुसार अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ । यो वर्ष विजया दशमी पनि अक्टोबर २ मा छ । यो नेपालबाट मनसुन बाहिरिने औसत मिति हो,” जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जन भन्छिन्, “तर, यही दिन नै मनसुनी प्रणाली बाहिरिहन्छ भन्ने छैन । केही दिन अगाडि वा पछाडि हुन्छ ।” 

    यो वर्ष मनसुनी प्रणाली औसत मितिभन्दा छिटो वा ढिलो बाहिरिन्छ भन्ने अहिले निश्चित नरहेको उनी बताउँछिन् । “आजबाट पश्चिम नेपालमा वर्षा केही कम हुँदै छ । तर, पूर्वी नेपालमा भने अहिलेको प्रणाली केही दिन यथावत रहनेछ,” उनी भन्छिन्, “तर, पूर्वी नेपालमा वर्षाको क्रम बढ्ने होइन, अहिलेको जस्तै यही अनुपातमा वर्षा र बदली हुनेछ ।” 

    केही दिनपछि पुनः मनसुनी प्रणाली सक्रिय हुने पूर्वानुमान छ । त्यो समय दसैँ सुरु भइसकेको हुनेछ । “केही दिनपछि पुनः मनसुन सक्रिय हुनेछ,” मौसमविद् महर्जन भन्छिन्, “त्यो प्रणाली केही दिन सक्रिय रहँदा वर्षा हुनेछ ।” वर्षा भए पनि लगातार झरी भने नपर्ने उनी प्रष्ट पार्छिन् । विजय दशमी (असोज १६ गते) तिर मनसुनी प्रणाली बाहिरिसक्छ वा नबाहिरिए वर्षा कुन मात्रामा हुन्छरहुँदैन भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । तर, पानी परे पनि झरी नै पर्ने सम्भावना भने नरहेको उनी प्रष्ट पार्छिन् । 

    मौसमी प्रणाली तत्कालै परिवर्तन हुने सम्भावना रहने भएकाले अहिले नै निश्चित गरेर यस्तै नै हुन्छ भनेर भन्न नसकिने उनी बताउँछिन् । “त्यसैले हामी दशमीको तीनरचार दिन अगाडि दसैँ विशेष मौसम बुलेटिन जारी गर्नेछौँ,” उनी भन्छिन् ।  जलवायुविज्ञ धर्मराज उप्रेती मनसुनी प्रणाली नेपालबाट बाहिरिने अनुकूल वातावरण विकास हुँदै गएको बताउँछन् । उनका अनुसार भारतका विभिन्न भागबाट मनसुन बाहिरिन थालेकाले यो क्रम नेपालको सुदूरपश्चिम प्रदेशमा अबको चार दिनमा आइसक्ने सम्भावना उच्च छ । 

    भारत मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली आजसम्म राजस्थान, गुजरात, पञ्जाब र हरियाणाका केही भागहरूबाट बाहिरिसकेको छ । “अफगानिस्थान, पाकिस्तान हुँदै मनसुनी प्रणालीलाई धकेल्दै आउने प्रणाली क्रमशः अगाडि बढिरहेको छ, यो प्रणाली थप स्ट्रङ हुँदै छ,” जलवायुविज्ञ उप्रेती भन्छन्, “यो प्रणाली स्ट्रङ हुनु भनेको मनसुनी प्रणाली बाहिरिँदै जानु हो ।”

    भोलिबाट मनसुन थप कमजोर हुँदै जाने र यसले नेपालमा मनसुनी प्रणाली बाहिरिन अनुकूल वातावरण बन्दै जाने उनी बताउँछन् । सप्तमी अथवा फूलपाती (असोज १३ गते)सम्म सुदूरपश्चिमदेखि वाग्मतीका पूर्वी भागसम्म मनसुन बाहिरिने सम्भावना उच्च रहेका उप्रेती बताउँछन् । “मनसुन यो वर्ष केही समय अगाडिबाट नै बाहिरिन सुरु गरेको छ । त्यसैले औसत मितिभन्दा अगाडि नै बाहिरिनुपर्ने हो । अनुकूल प्रणाली पनि विकास भइरहेको छ,” उप्रेती थप्छन्, “त्यसैले दशमी अक्टोबर २ सम्म कोसी प्रदेशबाट पनि बाहिरिनुपर्ने हो । यदि, कोसीबाट मनसुन बाहिरिएन भने त्यहाँ कमजोर अवस्थामा रहेको हुनेछ ।” 

    दसैँको टीकासम्म मनसुन नेपालबाट नबाहिरिए पनि ठूलो वर्षा र झरीको सम्भावना भने नरहेको उनी प्रष्ट पार्छन् । यद्यपि, अक्टोबर २ भन्दा अगाडि नै बाहिरिने बलियो सम्भावना रहेको उनी बताउँछन् । मनसुन कोसी प्रदेशबाट बाहिरिन्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो । बाहिरिने औसत मिति अक्टोबर २ हो । तर, यो भन्दा अगाडि वा पछाडि पनि हुनसक्छ । मनसुुन कोसी प्रदेशबाटै भित्रिने र बाहिरिने गर्छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८२ शनिवार - ११:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij