२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र उनको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि नेताहरूले राखेको फरक मतबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।
‘नेताहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा फर्कनु हुँदैन र सदस्यता नवीकरण भएको छैन भन्ने निर्णयमा फरक मत राख्नुभएको छ’, महासचिव पोखरेलले भने, ‘त्यो दस्ताबेजमाथिको फरक मत होइन केन्द्रीय कमिटीको निर्णय माथिको हो,त्यसैले भोलि बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुन्छ ।’
उनले ती नेताहरूले विचारमा नभई निर्णय मात्र फरक मत राखेको दाबी पनि गरेका छन् । निर्णय र दस्ताबेजमाथिको फरक मतमा भिन्नता हुने भन्दै फरक मतमाथिको छलफल गर्ने आफ्नै विधि रहेको महासचिव पोखरेलले बताएका छन् ।
विधान महाधिवेशनमा फरक मत आएमा सोही वेला छलफल हुनसक्ने भन्दै अहिले आएको फरक मत निर्णयको मात्रै भएकाले विधान अधिवेशनमा छलफल नहुने आफूले बुझेको महासचिव पोखरेलले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij