२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मा दिएको छ ।शुक्रबार बसेको उक्त पार्टीको सचिवालय बैठकले गौतमलाई विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय राजनीतिका बारेमा ब्रिफिङ गरेका थिए । ‘जनतालाई हैरानी दिने अहिलेको सरकार असफल र असक्षम भयो’, अध्यक्ष नेपालले बैठकमा भनेका छन् ।
त्यस्तै नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पेस गरेकाले उनीसँग थप छलफल गरेर अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित समाजवादी मोर्चासँग सहकार्यका लागि भएका छलफलका सम्बन्धमा पनि अध्यक्ष नेपालले ब्रिफिङ गरेका छन् । ‘अन्तरपार्टी छलफल गर्दै सुदृढ र सहकार्य बलियो बनाउने तथा मोर्चालाई प्रभावकारी बनाउने विषयमा भएका छलफलको प्रगति अध्यक्षबाट जानकारी गराएको छ्’, अध्यक्ष नेपालको भनाइ उदृत गर्दै नेता ज्वालाले जानकारी दिएका छन् ।
पार्टीले रुपन्देही ३ मा हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश अध्यक्षलाई सुझाव दिन निर्देशन दिएको छ । त्यस्तै बैठकले पार्टी निर्माणका सवालमा आगामी कार्ययोजना समेत पारित गरेको छ ।
एकीकृत समाजवादीमा विभिन्न ३२ वटा विभाग रहेका छन् । गौतमले यसअघि सङ्गठन विभागको प्रमुखको जिम्मेवारी माग गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij