Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’


  • 645
    Shares

    बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

    काठमाडौं । प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या-पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त परम्परालाई यसवर्ष पनि निरन्तरता दिन थालिएको छ । 

    यस कार्यमा विसं १९५९ देखि बर्सेनि बनेपाली जुट्दै आएका छन् । बनेपाको पूरानो बजारमा वर्षैपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दिन दुई दिन पूजा गरिन्छ । सप्तमी अर्थात् बिहीबार नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा कन्या-पूजा आयोजना गरियो । 
     
    कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार पाँच सय कन्या सहभागी हुने गर्दछन् । सनातन कन्या-पूजा प्रबन्ध समितिमार्फत कन्यापुजन हुँदै आएको छ ।

    नेपालको काभ्रेपलाञ्चोकबाहेक अन्य स्थानमा यस्तो पूजा गरिँदैन । यसवर्ष कृष्ण जन्माष्टमीका दिन शनिबार कन्या–पूजा गरिने तयारी सकिएको समितिले जनाएको छ । रजस्वला नभएका तथा ‘बेल-विवाह’ नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ ।

    उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार गरिएको समितिले जनाएको छ । समितिका सचिव प्रकाश कायस्थका अनुसार कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्ति तय भइसकेका छन् ।

    बनेपामा आसपासका ‘सात गाउँ’ का कन्यालाई पूजा गरिँदै आइएको छ । यो परम्परालाई व्यवस्थित गर्न समिति गठन गरिएको छ । कृष्ण जन्माष्टमीको दिनमा गरिने कन्या-पूजामा काभ्रेपलाञ्चोकलगायत तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् ।

    बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । जनविश्वासका कारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।

    त्यसदिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् ।  कन्या-पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।

    पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन पनि छ । बनेपामा हुने कन्या–पूजामाप्रति कन्या रु पाँच सय बराबरका सामग्री उपलब्ध गराइन्छ । गतवर्ष पनि करिब आठ हजार कन्याका लागि रु तीन करोडभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १५:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij