२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । तनावग्रस्त रहेको कैलाली कारागार बाहिर कैदीबन्दीका आफन्तहरूको भीड लागेको छ ।
कारागारमा हिंसात्मक झडप भएपछि कैदीबन्दीका आफन्त उनीहरूलाई भेट्ने प्रयासमा भेला भएका हुन् । एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।
भित्रको स्थिति तनावग्रस्त भएपछि आफन्तले कारागार पुगेर सोधखोज गरिरहेका छन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।
कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन । विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् । कारागार प्रशासनले उनीहरुलाई गेटबाहिरै रोकेको छ ।
१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij