२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाट बढाएका छन् ।
केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका श्रेष्ठको आज नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटवार्ता भएको छ ।
श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बताइएको छ ।
भेटमा दलहरूको वर्तमान अवस्था र भूमिका, एमाले-कांग्रेस गठबन्धन सरकारका गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार-विमर्श भएको छ ।
यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बतायो । विप्लवसँगको भेटमा पनि श्रेष्ठले कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij