२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् ।
जिल्लाको कालीगण्डकी करिडोर, रिडी-तम्घास र रिडी-वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका हुन् ।
कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका -१ स्थित गरगरे, वडा नम्बर -२ को मिल्क र वडा नं-३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरी रिडी-वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका -६ स्थित डहरे खोला र वडा नं -५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिए ।
उक्त क्षेत्रमा अहिले पनि लगातार रूपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक पटक-पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij