२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता घटनामा स्थानीयदेखि प्रहरी प्रशासनसम्मले खोजी सुरु गरेका छन् ।
लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र प्रहरीले खोजी सुरु गरेका छन् ।
बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।
‘घटना हेर्दा शुक्रबार, शनिबारबाटै उनीहरु सम्पर्कबिहिन भएको जस्तो देखिन्छ । घर एकलासमा भएकाले स्थानीयले पनि ढिलो गरी थाहा पाए । सोमबार बिहान जानकारी पाउनसाथ प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका छौं’ अध्यक्ष बरालले भने । पालिकाबाट अहिले उक्त ठाउँमा कर्मचारी समेत पठाइएको बरालले बताए ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार हराएको भन्ने सूचना आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।
उनका अनुसार अहिले हायुको घरमा इन्स्पेक्टरसहितको टोली पठाइएको छ । घटनाबारे स्थानीय, वडा र पालिकासँग सोधपुछ गरेर खोजी सुरु गरिएको छ । हायु जातिलाई राज्यले मासिक सामाजिक सुरक्षा भत्ता दिने भएकाले उक्त भत्ता लिएर कतै गएका हुन् कि भन्ने हिसाबले यसबारे पनि बुझ्ने काम भएको उनले बताए ।
उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् ।’
उर्मिला माझीको श्रीमान् गत वर्ष बित्नुभएको थियो । उहाँको जेठो छोरा वैदेशिक रोजगारीबाट हालैमात्र घर फर्किएको मैले थाहा पाएँ । चार दिनअघि बैठकबाट सामाजिक सुरक्षा भत्ता एकमुष्ट बुझेर लगेका थिए । उर्मिला माझीको परिवारले १८ जनाको भत्ता बुझेको हो । महिनाको ४ हजारको दरले एक वर्षको एकजनाको ४८ हजार हुन्छ । १८ जनाको कति भयो मैले अहिले ठ्याक्कै हिसाब गर्न सक्दिन । अब यो परिवार किन हरायो ? कहाँ गयो ? कसैले भवितव्य पो गरेको हो कि ? केही भन्न सकिन्न । कहिले हराएको हो पनि भन्न सकिएन । किनकी घरभन्दा पारी एउटा गोठमा पाडो बाँधेको रहेछ । तीन दिनदेखि पाडोलाई घाँस पानी गर्न कोही नगएपछि आज नजिकको दाइले घरमा आएर हेर्दा कोही देख्नुभएनछ ।
उहाँहरूको घरबाट अरु घर जान १५ मिनेट लाग्छ । मूलबाटोमा पनि नपर्ने भएकाले कसैले थाहा पाएन । अब उहाँहरू तीन दिनदेखि हराएको हो कि, हिजो राति हराएको हो कि,केही घटना भयो भन्ने बुझिएन । घरमा बाँधेका गाइबस्तु भोकले कराएका छन् । कुखुरा बाख्रा पनि छन् । तीन दिनअघि बोको पनि बेच्नु भएको रहेछ । घरमा अलिकति आगो लागेको छ । आफ्नै घरमा पालेको सुँगुर काटेर भत्ता आएको दिन खाएका रहेछन् । सुँगरको मासु २ धार्नी जति अँगेनाकै छेउमा रहेछ । बैंक र सहकारीमा अलिकति ऋण थियो भन्ने सुनिन्छ । केही प्लान गरेर हिँडेका हुन् वा कुनै विपत्ति आएको हो भन्ने अहिले नै भन्न सकिएन । उर्मिलाको छोरा, बुहारी, नाति नातिना, छोरीहरूसहित एकै परिवारका १६ जना सदस्य बेपत्ता छन्,
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij