२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा एक ८० वर्षीया वृद्धा आफ्नो घरभित्रै मृत फेला परेकी छन्। घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाही मृत फेला परेकी हुन्। उनको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीन राजा बुढाथोकीका अनुसार धारिलो हतियार प्रहार गरी शाहीको हत्या गरेको पाइएको छ । उनको शव आज फेला परेको हो ।
शाहीको शव दुई तले घरको माथिल्लो तलामा रहेको खाटमा भेटिएको हो । मृतक शाहीको टाउको, घाँटी र छातीमा गम्भीर घाउ रहेको डिएसपी बुढाथोकीले बताए । उनले शवको पोष्टमार्टमको तयारी भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार उनका एक छोरा काठमाडौं बस्दै आएका छन् भने अर्का छोरा टीकापुरमा बस्दै आएका छन् ।
घटनाबारे खबर प्राप्त गरेर अनुसन्धानमा खटेको प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिसँग सोधपुछ जारी रहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij