२०८२ चैत्र २ गते सोमवार
–हिरालाल श्रेष्ठ
गोरखा। सिरानचोक गाउँपालिका स्वास्थ्य शाखाद्वारा वडा नं. ८ स्थित जौबारी प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य शिविर गाँउपालिकाको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम आयोजना भएको हो।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा नसर्ने रोग (ब्लड सुगर, प्रेसर तथा बिएमआई) को स्कृनिङ सेवाबाट १२८ जना,प्रयोगशाला सेवाबाट ५३ जना, प्रजनन स्वास्थ्य रुग्णता जाँच तथा परामर्श र रिङ्ग प्रेसरी सेवा ३ जना, र आँखा जाँच तथा परामर्श सेवाबाट २१८ जनाले सेवा पाएका थिए। आँखा जाँचबाट ९ जनालाई चश्मा आवश्यक भएको पहिचान गरिएको र चश्मा निःशुल्क वितरण गरिने आयोजकले जानकारी दिए।
तालिम प्राप्त दक्ष नर्सीङ्ग कर्मचारीहरूबाट पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (भिआईए) सेवा पाएका ३९ जना मध्ये ३ जनामा पाठेघरको मुखको क्यान्सरको पोजिटिभ भेटिएको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकरी दिए।
शिविरमा सेवा लिन आएका सेवाग्राहीहरूलाई अत्यावश्यक औषधि वितरण गरिएको थियो। स्वास्थ्य शिविर आयोजना गर्न सहयोग गर्नुहुने वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, वरिष्ठ चिकित्सक डा. गुणराज लोहनी, सम्पूर्ण स्वास्थ्यकर्मी, सबै महिला स्वास्थ्य स्वयंसेविका लगायत सम्पूर्ण महानुभावहरूलाई स्वास्थ्य शाखा प्रमुखले हार्दिक धन्यवादसहित आभार प्रकट गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij