२०८२ चैत्र २ गते सोमवार
झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ।
पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला पारेका हुन्।
उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिए।
पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो कछुवा नेपालका केही तराई क्षेत्रमा करिब ४०० मिटर उचाइसम्म पाइने गरेो छ। ‘यो कछुवाको ‘क्रोमेटिक ल्युसिज्म’ दुर्लभ रूप (पहेंलो) नेपालमा दोस्रो पटक अभिलेख हुन सक्छ’, उनले भने, ‘यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो।’
यस्ता कछुवा विरलै देखिने भएकाले संरक्षणका दृष्टिकोणले विशेष महत्व रहेको उनले बताए। कछुवा जलथल सब–डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई जिम्मा लगाइएको वन समूहका सहसचिव भरत ढकालले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij