Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक अर्का माथि शङ्का बढेपछि जंगलमा लगेर श्रीमानले गरे श्रीमतीको हत्या

एक अर्का माथि शङ्का बढेपछि जंगलमा लगेर श्रीमानले गरे श्रीमतीको हत्या


  • 3.6K
    Shares

    • images
    एक अर्का माथि शङ्का बढेपछि जंगलमा लगेर श्रीमानले गरे श्रीमतीको हत्या

    सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुको जंगलमा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमानले गरेको पाइएको छ। गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमाको शव आइतबार झिगेनारा खोलामा फेला परेको थियो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रेमाको हत्या उनका श्रीमान् जक्सन खत्रीले गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनी नेपाली सेनाको वीरदल गण पाँचथरमा कार्यरत थिए। श्रीमतीको हत्या गर्ने उद्देश्यलेनै उनी पाँचथरबाट छिन्चु आएको र प्रेमालाई गुर्भाकोटबाट त्यही बोलाएर हत्या गरेको प्रहरीको भनाई छ।

    ‘साथीसँग सामान पठाएको छु, आफै गएर छिन्चुबाट सामान लिनु भनेर जक्सनले श्रीमतीलाई खबर गरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले भने, ‘साथीसँग समान पठाएको भनेका जक्सन अघिल्लै राति छिन्चु पुगिसकेको पाइयो।’

    शनिबार साँझ सामान लिनका लागि छिन्चु पुगेकी प्रेमाको श्रीमानसँग भेट भएपछि विवाद सुरु भएको प्रहरीको भनाई छ।

    ‘दुवै जनाले एक अर्का माथि गर्ने शङ्काले नै शनिवारको घटना हुन पुग्यो,’ एसपी खड्काले भने, ‘प्रेमाले श्रीमानलाई अर्कै केटीसँग सम्बन्ध रहेको भनिरहने र श्रीमानले पनि प्रेमामाथि शंका गर्ने कारणले यो घटना हुन पुग्यो।’

    प्रहरीका अनुसार छिन्चु बजारमा दुई जनाबिच विवाद भएपछि प्रेमा वीरेन्द्रनगर आउने बाटोतर्फ लागिन्। जक्सनले उनलाई पछ्याए। जक्सनले बजारदेखि चार–पाँच सय मिटर दूरी पार गरिसकेपछि रत्न राजमार्गको पुल नजिकै रामजानकी सामुदायिक वनको उत्तरतर्फ प्रेमालाई लगे।

    ‘त्यहाँ आधा घण्टासम्म दुवै जनाबिच भनाभन भयो,’ प्रारम्भिक बयानमा जक्सनले भनेका छन्, ‘धेरै सम्झाउँदा पनि नमानेपछि टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको हुँ।’

    डुङ्गाले हानेपछि भुइँमा ढलेकी प्रेमालाई उनैले प्रयोग गरेको सलले बेरेर खोलामा फालेको बयान जक्सनले प्रहरीलाई दिएका छन्। प्रेमाको हत्या गरेपछि राति आठ बजेतिर जक्सन गुर्भाकोटस्थित घर गएका थिए। उनले प्रेमाको हत्या आफू एक्लैले गरेको बताएका छन्। 

    गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ६ वर्षीय छोरीसहित प्रेमा एक्लै बस्थिन्। उनको माइती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो। आइतबार दिउँसो थाकल खान जंगल गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले शव उठाउन हतार नगरी कुकुरसहितको टोली मगाएर थप अनुसन्धान गरेको थियो।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्का, डिएसपी मोहनजंग बुढथापा, इलाका प्रहरी कार्यालय छिन्चु र केनाई शाखा नेपालगन्जबाट कुकुरसहितको प्राविधिक टोली छिन्चु पुगेको थियो।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - ०६:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij