२०८२ चैत्र २ गते सोमवार
काठमाडौं। राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन्। साथै उनीहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन्।
आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे।
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसी थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij