२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सवारी नियम उल्लंघन गर्नेहरूलाई अनलाइन माध्यमबाट कक्षा लिन प्रस्ताव गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा सो प्रस्ताव पठाएको हो ।
लेन अनुशासन पालना नगरेको, तीव्र गतिमा सवारी दौडाएको, मादक पदार्थ सेवन गरेर सवारी चलाएको र रातो बत्तीमा सवारी चलाउनेलाई अनलाइन प्रविधिबाट कक्षा लिन प्रस्ताव गरिएको छ । अनलाइन माध्यमबाट कक्षा लिनुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयमा पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) दीपक गिरीले बताए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयबाट निर्णय भएर आएपछि लागु गर्ने हाम्रो योजना छ ।’
प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले अनलाइन कक्षा लिँदा चालकलाई जिम्मेवार बनाउने गरी सफ्टवेयर तयार गरिरहेको छ । ट्राफिक नियम उल्लंघनकर्ता नै अनलाइन कक्षामा सहभागी भए नभएको र पुरा समय कक्षा लिएको वा नलिएको थाहा हुनेगरी सफ्टवेयर तयार भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । ती अधिकृतले भने, ‘अनलाइन कक्षा हुँदा चालक बसेको नबसेको र लाइसेन्स होल्डर चालक नै हो, होइन भनेर यकिन गर्नेगरी प्राविधिक तयारी भइरहेको छ ।’
सडकमा लाइसेन्स चेकजाँच गर्दा नागरिक एपबाट हेर्न मिल्ने प्रणाली लागु गरिएको छ । सचेतना कक्षा लिँदा पनि नागरिक एप र नेपाल प्रहरी एपलाई लिङ्कअप गर्नेगरी काम भइरहेको अधिकारीहरू बताउँछन् । प्रहरी स्रोतका अनुसार ज्ञान बजार प्रालिको सहकार्यमा सफ्टवेयर बनिरहेको छ । एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बडी समय अनलाइनमा चालक बसे नबसेको र सम्बन्धित बाहेक अर्को मानिस बसेको पनि पहिचान गर्नेछ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी गिरी भन्छन्, ‘त्यो काम प्रक्रियामा छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij