Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

खोटाङका वनमा भेटियाे दुर्लभ रेडपाण्डा

खोटाङका वनमा भेटियाे दुर्लभ रेडपाण्डा


  • 1.4K
    Shares

    • images
    खोटाङका वनमा भेटियाे दुर्लभ रेडपाण्डा

    काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् ।

    नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेको छ । 

    रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाइमा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा भेटिएको हो । वनमा करिब पाँच वटा रेडपाण्डा हुनसक्ने अनुमान मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिए । 

    नगरपालिकाको कोप्चेसहित अन्य वनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् । रेडपाण्डा खोजीका लागि टोली संयोजक राईसहित महोत्सव संयोजक, दिक्तेल रुपाकोट मझुवागढ–१० का वडाध्यक्ष मुगाधन राई, १२ नं का वडाध्यक्ष दानबहादुर राईलगायत टोली वन क्षेत्रमा पुगेर अनुसन्धान थालेको वन उपभोक्ता समूहका अध्यक्ष राईले उल्लेख बताए । 

    जिल्लामा सामुदायिक वन समूहको सक्रियता तथा वनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिएको छ । विशेषगरी फेदी क्षेत्रका विभिन्न सामुदायिक वन समूहमा आवद्ध स्थानीय रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका छन् । 

    नगरपालिकाले गर्ने रेडपाण्डा तथा थार महोत्सवले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना सफल बनाउन मद्दत पुग्ने जनाइएको छ । भ्रमण वर्षको अवसरमा केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधैली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरुले जनाएका छन् ।

    यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । 

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १६:४५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij