Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

८ महिनामा २० गैँडा मरे

८ महिनामा २० गैँडा मरे


  • 1.1K
    Shares

    • images
    ८ महिनामा २० गैँडा मरे

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरू प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।

    यस आर्थिक वर्षमा चोरी–सिकारीका कारण भने गैँडा नमरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । 
        
    मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–सिकारीले मारेका थिए । प्राकृतिक कारणले धेरै गैँडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो ।

    पछिल्ला वर्ष प्राकृतिक कारणबाट हुने गैँडाको मृत्युदर घट्दै आएको छ । आव २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैँडा मरेका थिए । सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा गैँडा गणना कार्यक्रम स्थगन भएको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १५:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij