Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

कतारका अमिर तमिमले वैशाखमा नेपालको भ्रमण गर्ने,यस्ता छन् हस्ताक्षर सम्झौतापत्र

कतारका अमिर तमिमले वैशाखमा नेपालको भ्रमण गर्ने,यस्ता छन् हस्ताक्षर सम्झौतापत्र


  • 2.2K
    Shares

    कतारका अमिर तमिमले वैशाखमा नेपालको भ्रमण गर्ने,यस्ता छन्  हस्ताक्षर सम्झौतापत्र
    images

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले २०८१ वैशाख १२ र १३ गते नेपालको भ्रमण गर्ने भएका छन् ।  यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालय बतायो । 

    “कतारका अमिर तमिमको नेपाल भ्रमणको मिति पुनः तय भएको छ । उहाँ दुईदिनको लागि नेपाल आउँदै हुनुहुन्छ । खाडी राष्ट्रबाट नेपालमा हुन लागेको यो अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय भ्रमण हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

    यसअघि कतारका अमिर तमिमले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए । भ्रमणको सम्पूर्ण तयारी सकिएपछि काठमाडौंस्थित कतारको दूतावासले कात्तिक १३ गते परराष्ट्र मन्त्रालयलाई भ्रमण स्थगित गरिएको जानकारी दिएको थियो ।

    सन् १९८० मा जन्मिएका तमिम सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् ।  तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् ।  अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो । 

    जेठा दाई शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा तमिम उत्तराधिकारी बनेका थिए ।  सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए ।  उनले सन् २०२२ मा कतारमा फिफा विश्वकप जस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पु¥याएका थिए । 

    उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए । यिनै कतारका अमिर तमिम आगामी वैशाख महिनामा नेपाल आउन लागेका हुन् । 

    नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरुबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन । 

    घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ । कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको दाबी स्रोतको छ । 

    “कतारका अमिरको भ्रमणका बेला नेपालले कतारलाई विशेष उपहारस्वरुप दुईवटा हात्तीका छावा दिने तयारी पनि भइरहेको छ,” स्रोतले भन्यो ।

    नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगेको छ । यो अवधिमा नेपालबाट कतारमा उच्चस्तरीय भ्रमणहरु भए पनि कतारबाट हुन सकेको थिएन ।  कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालले सन् २००० मा कतारमा आफ्नो दूतावास स्थापना गरेको थियो । कतारले सन् २०११ मा नेपालमा दूतावास खोलेको थियो । 

    नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्दै आएका छन् । संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 

    नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले २१ मार्च २००५ मा कतार भ्रमण गरी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०११ अक्टोबर १०–१३ सम्म कतारको औपचारिक भ्रमण गरेका थिए । 

    यसअघि तत्कालीन श्रममन्त्री रमेश लेखकले स्न २००८ जनवरी २० मा कतारको भ्रमण गरी एउटा श्रम सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । परराष्ट्रमन्त्रीको रुपमा उपेन्द्र यादवले पनि स्न २००९ मार्च १४–१६ सम्म कतारको भ्रमण गरेका थिए । 

    तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सन् २००८ नोभेम्बर २८ देखि डिसेम्बर ३ सम्म कतारको भ्रमण गरेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सन् २०१४को मार्चमा कतारको निजी भ्रमण गरेका थिए ।  परराष्ट्रमन्त्रीको हैसियतमा प्रकाशशरण महतले पनि सन् २०१७ जनवरीमा कतारको भ्रमण गरेका थिए । 

    यस्तै २०७५ कात्तिकमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कतारको चार दिने भ्रमण गरेकी थिइन् । कतारबाट भने सन् २०१५ को अप्रिलमा श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुल्लाह सलेह मुबारक अल–अलखुलाफीले नेपाल भ्रमण गरेका थिए । 

    कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले गत मंसिर महिनामा नेपालको भ्रमण गरेका थिए ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८० शुक्रवार - १२:१४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij