२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित झुंगामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२८ च २७८३ नम्बरको इसुजु जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार अनियन्त्रित भएको उक्त जिप मदन भण्डारी राजमार्गबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका हुन्।
दुर्घटनामा परी चार जना घाइते भएका छन्। घाइते हुनेमा बराहक्षेत्र नगरपालिका–८ निवासी ३८ वर्षीया प्रमिला भट्टराई, उनका ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा आतर्व भट्टराई रहेका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij