Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

सुरक्षा/अपराध

८७ वर्षीय कोरियन नागरिकको कोकिन तस्करी कनेक्सन, भारतीय प्रहरीसमेत पक्राउ

८७ वर्षीय कोरियन नागरिकको कोकिन तस्करी कनेक्सन, भारतीय प्रहरीसमेत पक्राउ

images

  • 330
    Shares

    ८७ वर्षीय कोरियन नागरिकको कोकिन तस्करी कनेक्सन, भारतीय प्रहरीसमेत पक्राउ
    images

    काठमाडौं । नेपाललाई लागुऔषध तस्करीको ट्रान्जिटका रूपमा प्रयोग गर्दै कोकिनको अवैध कारोबार भइरहेको खुलासा भएको छ। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको ठमेलबाट ८७ वर्षीय कोरियन नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

    ब्युरोका अनुसार मंसिर ११ गते कोरियन नागरिक सुक चोन लीलाई ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको हो। उनीमार्फत विमानस्थल हुँदै नेपाल भित्र्याइएको ३ केजी कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिए।

    अनुसन्धानका क्रममा उक्त कोकिन लिन आएका भारतीय नागरिक दीपक उत्तम बाघमारे पनि पक्राउ परेका छन्। उनी भारतीय प्रहरीका बहालवाला जवान रहेको खुलेको छ। उनको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई’ को परिचयपत्रसमेत फेला परेको अनुसन्धान अधिकृतहरूले बताएका छन्।

    ब्युरोका अनुसार काठमाडौंमा कोकिन कारोबारमा संलग्न कोरियन नागरिक पक्राउ परेको यो पहिलो घटना हो। कोकिन लिन आएका व्यक्ति भारतीय प्रहरीका कर्मचारी रहेको तथ्य सार्वजनिक भएपछि घटनालाई थप गम्भीरताका साथ हेरिएको छ।

    प्रहरी अनुसन्धानबाट कोरियन नागरिक लीले कोकिन पेरुबाट म्याड्रिड (स्पेन) र दोहा हुँदै नोभेम्बर २६ मा नेपाल ल्याएको खुलेको छ। उनले उक्त कोकिन नेपालबाट भारतको मुम्बई पुर्‍याउने योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

    बरामद गरिएको ३ केजी कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ पर्ने बताइएको छ।

    अनुसन्धान अधिकृतहरूका अनुसार कोकिन लुकाइएको सुटकेस आदानप्रदान गर्न पक्राउ परेका व्यक्तिहरूले पासवर्डसमेत प्रयोग गर्ने गरेका थिए। यसअघि पनि कोरियन नागरिक ली सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलकै एक होटलमा तीन दिन बसेर फर्किएको अभिलेख भेटिएको प्रहरीले जनाएको छ।

    घटनाले अन्तर्राष्ट्रिय लागुऔषध तस्करीमा नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने प्रयास भइरहेको आशंका बढाएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १५:५५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij