Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको जोड

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको जोड

images

  • 372
    Shares

    स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको जोड
    images

    काठमाडौं ।  स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले सुशासन, विकास र जनताको प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनुपर्नेमा जोड दिएका छन्।

    काठमाडौँस्थित हिमालयन दरबार प्रा.लि.मा स्वतन्त्र नागरिक अभियानद्वारा आयोजित ‘स्थानीय तहमा गैरदलीय निर्वाचन आवश्यकता किन ? र स्वतन्त्र नागरिकको भूमिका के ?’ विषयक विशेष अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले स्थानीय सरकारमा दलीय तन्त्रको सट्टा जनतन्त्र स्थापित हुनुपर्ने बताएका हुन्।

    उनले २०७२ सालमा संविधान जारी भएपछि दुई पटक स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि जनताले अपेक्षाअनुसार विकास र सेवा सुविधा पाउन नसकेको टिप्पणी गरे। दलीय आधारमा स्थानीय सरकार सञ्चालन हुँदा जनताको आवश्यकता र विकासका कामले प्राथमिकता पाउन नसकेको उनको भनाइ थियो।

    धमलाले स्थानीय तहमा राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सक्ने सक्षम, योग्य, इमानदार र जनताप्रति उत्तरदायी व्यक्तिहरूको आवश्यकता रहेको बताए।

    उनले प्रधानमन्त्री बालेन शाह यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएको उदाहरण दिँदै स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषयमा पहल गर्न प्रधानमन्त्रीसमक्ष आग्रहसमेत गरे।

    यस विषयमा रवि लामिछाने, गगन थापा, राजेन्द्र लिङ्देन, सीके राउत, रेशम चौधरी, हर्क साम्पाङ र कुलमान घिसिङलगायतका नेताहरूसँग पनि अभियानले संवाद गरिरहेको उनले जानकारी दिए।

    ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, लोकतन्त्रमा जनता शक्तिशाली हुन्छन्,’ धमलाले भने, ‘२००७ सालदेखि पटक–पटक आन्दोलन भए, हजारौँ शहीद भए र लाखौँ नागरिक अङ्गभङ्ग भए पनि जनताले अझै पूर्ण अधिकार र विकास पाउन सकेका छैनन्।’

    देशको विकास र समृद्धिको आधार स्थानीय तहबाटै निर्माण हुनुपर्ने उल्लेख गर्दै उनले सडक कालोपत्रे, पूर्वाधार विकास, फलफूल खेती तथा पशुपन्छी पालनलाई प्राथमिकता दिएर स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्ने धारणा राखे।

    कार्यक्रमको अन्त्यमा अध्यक्ष धमलाले गैरदलीय स्थानीय निर्वाचनको अभियानलाई सफल बनाउन बुद्धिजीवी, नागरिक समाज तथा सम्पूर्ण सचेत नागरिकलाई साथ र सहयोग गर्न आह्वान गरे।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १५:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij