२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आइतबार पनि गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले मंसिर १३ गतेदेखि लागू हुने गरी आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। अब गाउँपालिकाअन्तर्गतका कार्यालयमा सातामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जारी गरेको सूचनाअनुसार गाउँपालिकाको भौगोलिक बनावट र सवारीसाधनमा पेट्रोलियम पदार्थको प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा कम हुने भएकाले इन्धन बचतका लागि सातामा दुई दिन बिदा दिनु सान्दर्भिक नदेखिएको हो।
गाउँपालिकाले सातामा दुई दिन बिदा नदिने निर्णय गर्नुका पछाडि भौगोलिक अवस्था, इन्धन खपत, स्वास्थ्य सेवाको संवेदनशीलता र नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने विषयलाई मुख्य कारण बनाएको छ।
गाउँपालिकाका अनुसार आइतबार स्वास्थ्य संस्थामा बिदा दिँदा दुर्गम क्षेत्रका बिरामी उपचार सेवाबाट वञ्चित हुने तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नसमेत कठिनाइ हुने देखिएको छ।
सरकारले अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा देखिएको असहजता तथा इन्धन खपत व्यवस्थापन गर्ने उद्देश्यले गत चैत २३ गतेदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरेको थियो।
तर खुम्बु पासाङ ल्हामु गाउँपालिकाले स्थानीय आवश्यकता र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij