२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । साउदी अरबको ‘किङ सलमान ह्युमनिटेरियन एड एण्ड रिलिफ सेन्टर’ ले सहयोग स्वरूप नेपाल रेडक्रस सोसाइटीलाई न्यानो कम्बल तथा म्याट्रेस हस्तान्तरण गरेको छ।
सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मुनिरले सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीलाई ती राहत सामग्री हस्तान्तरण गरेका हुन्।
बाढी प्रभावित तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी संस्थाले आठ हजार थान न्यानो कम्बल र छ हजार थान म्याट्रेस उपलब्ध गराएको हो। उक्त सहायताबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित तथा उच्च जोखिममा रहेका दुई हजार घर परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।
त्यस अवसरमा सोसाइटीका अध्यक्ष डा भण्डारीले जतिसक्दो चाँडो प्रभावित समुदायमा प्राप्त सहयोग सामग्री वितरण गरिने बताए। सोसाइटीले बाढी प्रभावित समुदायका लागि नेपाल सरकार, आइएफआरसी, आईसीआरसी र साझेदार राष्ट्रिय सोसाइटीलगायत सरोकारवालाको सहयोगमा प्रतिकार्यका गतिविधि सञ्चालन गरिरहेको उनले जानकारी दिए।
राजदूत बिन मुनिरले साउदी अरबले मानवीय सहायता प्रदान गर्ने साझा उद्देश्यका साथ काम गरिरहेको र रेडक्रस जस्तो मानवीय संस्थामार्फत राहत सामग्री प्रभावित समुदायसम्म पुर्याउन पाएको भनी खुसी व्यक्त गरे।
रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ नेपालका प्रमुख डेभिड फिसरले विपद् पश्चात प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी निरन्तर मानवीय सहायता प्रदान भनी सबैमा धन्यवाद ज्ञापन गरे।
रेडक्रस अन्तरराष्ट्रिय समिति नेपालका प्रमुख सन्देश श्रेष्ठले बाढीबाट प्रभावित परिवारका बेपत्ता सदस्यको खोज र पहिचान तथा शव व्यवस्थापन गर्न आवश्यक शव व्यवस्थापन ब्याग रेडक्रस सोसाइटी र सरकारलाई सहयोग गरिरहेको बताए।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ईश्वरीदत्त खनालले प्राप्त न्यानो सामग्री छनोटमा परेका प्रत्येक घर परिवारलाई चार थान कम्बल र तीन थान म्याट्रेस वितरण गरिने जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij