२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
२०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको रथी पदमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। रथीमा बढुवासँगै थापा नेपाली सेनाको प्रधानसेनापति बन्ने रोलक्रममा समेत परेका छन्। हालका प्रधानसेनापति सिग्देलको अवकाशपछि आगामी भदौ २४ गतेदेखि थापा प्रधानसेनापति बन्ने सम्भावना रहेको छ।
यसैबीच, नेपाली सेनामा अर्को रथी पनि बढुवा हुने भएका छन्। उपरथी मधुकर कार्कीलाई रथीमा बढुवाका लागि सिफारिस गरिएको छ। उनी मंसिर १५ गतेदेखि लागू हुने गरी रथीमा बढुवा हुनेछन्।
कार्यक्रममा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, पंकज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। त्यसैगरी महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij