२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार जनकपुरधाम आइपुग्ने भएको छ। रेलको स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए।
उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्या धामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने निर्धारित कार्यक्रम छ। रेलको स्वागतका लागि जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो रेल भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधाम पुग्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ।
१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन्। यो रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ।
भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन र यात्रु आवागमनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij