२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणबारे छलफल भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा शाहले भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए । जवाफमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए ।
राजदूत दलेलाले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताएका थिए ।
भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै, रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति पनि उनले आभार व्यक्त गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij