२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक–दुई साताभित्र ३० देखि ३५ वटा नयाँ आर्थिक सुधारका कार्यक्रम समेटिएको प्याकेज सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक सुधारलाई निरन्तरता दिने बताएका हुन् ।
उनले आगामी जेठ १५ सम्म पर्खेर नबस्ने भन्दै निरन्तर सुधारका कार्यक्रम अघि बढाइने बताए । पूर्वाधार सम्मेलनको आसपास ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने गरी बृहत् कानुनी सुधारको तयारी भइरहेको पनि उनले जानकारी दिए । आगामी बजेटमा ‘ट्याक्स रिफर्म २.०’ लाई निरन्तरता दिइने उनको भनाइ छ ।
वाग्लेले भोटेकोसी राहत प्याकेज र पुँजीबजार सुधारका लागि ल्याइएको २१ बुँदे कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको दाबी गरे ।
त्यस्तै, सरकारले करको दायरा विस्तार गर्दै करका दरमा भारी कटौती गरेको उनले बताए । लामो समयदेखि शुल्क, दस्तुर, ब्याज र जरिवानाको बोझमा परेका करदातालाई राहत दिन आर्थिक ऐनमार्फत कर विवाद समाधान र स्वैच्छिक कर अनुपालनासम्बन्धी विशेष सुविधा ल्याइएको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले उक्त सुविधाको लाभ पुस महिनाभित्र लिन करदातालाई आग्रह गर्दै यस्ता अवसर पटक–पटक नआउने बताए । साथै, कुनै कर दर वा अभ्यासका कारण उद्योगी–व्यवसायीलाई अन्याय परेको भए आर्थिक ऐनको दफा १८ अनुसार आवश्यक सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij