२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नेपालमा व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले संस्थागत र व्यक्तिगत गरी प्यान लिने करदाताको संख्या ८० लाख पार भएको जानकारी दिएका हुन्।
उनका अनुसार करदाताको संख्या बढ्नुले मुलुकका आर्थिक गतिविधि औपचारिक दायरामा प्रवेश गर्दै गएको र करको दायरा विस्तार भइरहेको देखाउँछ। कुल सरकारी राजस्व संकलनमा आन्तरिक राजस्व विभागको योगदान करिब ४५ प्रतिशत रहेको पनि उनले बताए।
विभागले गत आर्थिक वर्षमा करिब ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षमा भने ७ खर्ब ७५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। यो अवधिको लक्ष्यको ९० प्रतिशत तथा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशत बढी हो।
यसैबीच, विभागले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने क्रममा नयाँ करदाता पोर्टल सञ्चालनमा ल्याएको छ। विभागका अनुसार ९५ प्रतिशतभन्दा बढी सक्रिय करदाताले अनलाइनमार्फत कर विवरण दाखिला गर्दै आएका छन्। ई-टीडीएस, क्यूआर, डिजिटल वालेट तथा बैंकिङ प्रणालीबाट कर भुक्तानी गर्ने व्यवस्था पनि कार्यान्वयनमा रहेको छ।
कर प्रणाली सुधारका लागि विभागले चालु आर्थिक वर्षमा २८ बुँदे कार्ययोजना लागू गरेको छ। साथै, देशभरका ४७ आन्तरिक राजस्व कार्यालय, ३८ कोष तथा लेखा नियन्त्रक कार्यालय र २०० भन्दा बढी स्थानीय तहबाट करसम्बन्धी सेवा प्रदान भइरहेको छ।
‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित सुरु भएको राष्ट्रिय कर सप्ताह मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij