२०८३ मंसिर १ गते मंगलवार
काठमाडौं । आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ ।
उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो । यसअघि सरकारले १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो ।
राजपत्रको सूचना अनुसार यो ऐन देशभरि तीन चरणमा लागु गर्ने कार्यतालिका तय गरिएको छ । जसअनुसार पहिलो चरणमा आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका सबै स्थानीय तहमा ऐन लागु भएको हो ।
त्यस्तै दोस्रो चरणमा आगामी १ माघदेखि उपत्यका बाहिरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका तथा तेस्रो चरणमा आगामी वर्ष १ साउन २०८४ देखि देशभरिका बाँकी सम्पूर्ण गाउँपालिकामा यो ऐन कार्यान्वयनमा ल्याइने छ ।
ऐन कार्यान्वयन सुरुवात उपत्यकाका तीन जिल्लाका तीनवटा स्थापित वधशालाबाट परीक्षण सहित स्वच्छ मासु उत्पादन र बिक्री प्रक्रिया सुरु गरिएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौंस्थित भ्याली कोल्ड स्टोर, भक्तपुरको मध्यपुर थिमिस्थित न्यु पञ्चकन्या वधशाला र ललितपुरस्थित एभरेस्ट बंगुर वधशाला (स्लटर हाउस) बाट मासु जाँच तथा छाप लगाउने कार्यको थालनी गरिएको हो ।
‘प्रदेश सरकार क्याबिनेटमा प्रस्ताव लैजाने तयारीमै रहेकाले सुपरिवेक्षकको विधिवत् नियुक्ति आउनासाथ साता–दश दिनभित्रै उपत्यकाका हरेक पालिकामा तोकिएको वधस्थलबाट मासु जाँच प्रक्रिया सुरु हुन्छ,’ दाहालले भने, ‘विभागले दिएकै ५/६ महिना अवधिभित्र उपत्यकाका सबै पसलमा छाप लगाएको मासु पाउने गरी पूर्ण कार्यान्वयन गरिसक्ने हाम्रो लक्ष्य छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij