Logo

२०८३ मंसिर १ गते मंगलवार

२०८३ मंसिर १ गते मंगलवार

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि महायज्ञ

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि महायज्ञ


  • 260
    Shares

    • images
    श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि महायज्ञ

    नारायणगढ । मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेपछि सम्पन्न भएको छ। रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ।

    मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु भएको रथयात्राले देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गरेको थियो। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर फर्किएको रथयात्रामा विभिन्न स्थानबाट भक्तजनको सहभागिता रहेको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए।

    उनका अनुसार रथयात्राका क्रममा मेची र महाकालीको जल सङ्कलन गरिएको छ। उक्त जल गण्डकी नदीमा अर्पण गरिनेछ। रथयात्रा त्रिवेणीधाम आइपुग्दा स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो।

    रथयात्राको समापनसँगै सुरु हुने एकमहिने महायज्ञको पहिलो दिन आज बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने कार्यक्रम छ।

    गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थल पुग्ने कलश यात्रापछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्यापूजा तथा दीप प्रज्वलन गरिनेछ। बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता प्रपन्नाचार्यले बताए।

    मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछन्।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - ०८:१२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij